यस्तो छ आजको मौसम
प्रकाशित मिति
२०८३ असार ९ गते, मंगलवार १०:४८
९ असार २०८३ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशका पूर्वी तथा मध्य भू-भागमा मनसुनी वायु सक्रिय रहेकाले आज कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। साथै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको प्रभाव रहने चेतावनी पनि दिइएको छ।
विभागका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू-भाग, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य भू-भागमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रहेको छ भने सुदूरपश्चिमको तराई क्षेत्रमा मौसम मुख्यतया सफा छ। कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै कोशी प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहरको अवस्था रहने तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि तातो दिनको सम्भावना रहेको जनाएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा बदली कायम रहनेछ। कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।मौसम विभागले वर्षा, चट्याङ तथा तातो लहरबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।




प्रतिकृया