रास्वपाको उदयलाई ‘नयाँ राजनीतिक क्रान्ति’को संज्ञा, रवि–बालेनलाई बाबुरामको साथ
प्रकाशित मिति
२०८३ असार ७ गते, आईतवार ०९:०३
चितवन । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई नेपाली राजनीतिक इतिहासको नयाँ क्रान्तिको कडी भएको बताएका छन्। रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले चार वर्षको छोटो अवधिमै जनताको मन जितेर र आधुनिक प्रविधिको प्रयोगमार्फत रास्वपाले हासिल गरेको सफलतालाई ऐतिहासिक उपलब्धि भएको बताए।
उनले आफूले विगत एक दशकभन्दा बढी समयदेखि वैकल्पिक राजनीतिको पैरवी गर्दै आएको स्मरण गर्दै रास्वपालाई त्यस अभियानको सबैभन्दा महत्त्वपूर्ण उपलब्धिका रूपमा ग्रहण गरेको बताए। भट्टराईले पुराना राजनीतिक दलहरूमा रहेको ‘षड्यन्त्र सिद्धान्त’को सोचको आलोचना गर्दै परिवर्तनलाई स्वीकार गर्नुपर्ने धारणा राखे। समाज परिवर्तनका लागि सत्य र न्यायको पक्षमा उभिन आवश्यक रहेको उनको भनाइ थियो।

उनले रवि लामिछाने र बालेन्द्र शाह (बालेन शाह) को पुस्ताले अब नेपाललाई सुशासन र समृद्धिको उच्चतम विन्दुमा पुर्याउने जिम्मेवारी वहन गर्नुपर्ने बताए। रास्वपाको लोकप्रिय चुनावी नारा ‘चुपचाप घण्टीमा छाप’ लाई अब ‘चुपचाप सुशासन र विकास’ मा रूपान्तरण गर्न सुझाव दिए।

भट्टराईले नेतृत्वबीचको एकता र सहकार्यलाई विशेष महत्त्व दिँदै रवि र बालेनबीच कुनै प्रतिस्पर्धा वा विभाजन सिर्जना गर्ने प्रयासबाट सचेत रहन आग्रह गरे। पार्टीको भविष्य र जनताको विश्वास जोगाउन नेतृत्व एकजुट रहनुपर्ने उनको भनाइ थियो।
उनले रास्वपाले आगामी वर्षहरूमा सुशासन, समृद्धि र युवाको आकांक्षा पूरा गर्न केन्द्रित भएर काम गर्नुपर्ने उल्लेख गर्दै विदेशिएका लाखौं नेपाली युवाको अपेक्षा पनि यही रहेको बताए।
सम्बोधनको अन्त्यमा उनले अकबर–बीरबलको कथा सुनाउँदै नयाँ पुस्ताको नेतृत्वलाई आलोचना र चुनौतीभन्दा सहयोग र मार्गदर्शन आवश्यक रहेको बताए। पुरानो पुस्ताले नयाँ पुस्तालाई तान्ने होइन, देश निर्माणको यात्रामा साथ दिनुपर्ने उनको धारणा थियो। भट्टराईले रास्वपाको नेतृत्व, विचार र संगठनलाई आगामी दिनमा अझ परिपक्व र प्रभावकारी बनाउन शुभकामना व्यक्त गरेका छन्।




प्रतिकृया