झारखंडमा एयर एम्बुलेन्स दुर्घटना : बिरामीसहित सात जनाको मृत्यु
प्रकाशित मिति
२०८२ फाल्गुन १२ गते, मंगलवार ०९:०८
१२ फाल्गुन, २०८२ काठमाडौं – भारतको झारखंड राज्यमा एयर एम्बुलेन्स दुर्घटनाग्रस्त हुँदा बिरामीसहित सात जनाको ज्यान गएको छ। राँचीबाट दिल्लीका लागि उडेको उक्त विमान प्राविधिक खराबीका कारण दुर्घटनामा परेको आशंका गरिएको छ।
राँची विमानस्थलका निर्देशक विनोद कुमारका अनुसार विमान सिमरिया नजिकै दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा क्याप्टेन विवेक विकास भगत, क्याप्टेन सवराजदीप सिंह, ४१ वर्षीय बिरामी सञ्जय कुमार, उनकी पत्नी अर्चना देवी, सहयोगी धुरु कुमार, डा. विकास कुमार गुप्ता तथा प्यारामेडिकल कर्मचारी सचिन कुमार मिश्रा रहेका थिए।

राँचीस्थित देवकमल अस्पताल का सीईओ अनन्त सिन्हाका अनुसार ६५ प्रतिशत जलेका सञ्जय कुमारलाई उपचारका लागि दिल्ली लैजान एयर एम्बुलेन्सको व्यवस्था गरिएको थियो। विमान सोमबार साँझ भारतीय समयअनुसार करिब ७:१० बजे उडेको र ७:३४ बजे कोलकाता एयर ट्राफिक कन्ट्रोल सँग सम्पर्क टुटेको थियो। त्यसपछि खोज तथा उद्धार समन्वय केन्द्र सक्रिय गरिएको जनाइएको छ।

स्थानीय बासिन्दाले सिमरिया क्षेत्रको घना जंगलमा विमान खसेको जानकारी दिएपछि प्रहरी र उद्धार टोली घटनास्थल पुगेका थिए। मोबाइल फोनको बत्तीको सहारामा ग्रामीणवासीले पहिलो पटक दुर्घटनास्थल पत्ता लगाएका थिए।
भारतमा एक महिनाभित्र चार्टर्ड विमान दुर्घटनाको यो दोस्रो घटना हो। यसअघि भएको एक दुर्घटनामा अजित पवार को मृत्यु भएको उल्लेख गरिएको छ।




प्रतिकृया