• ३१ भदौ २०८३, बुधबार
  • ९ः१५ राती

आन्दोलनरत शिक्षक र कर्मचारीलाई स्थानीय तहहरूले धम्याएकाे महासंघकाे आरोप

प्रकाशित मिति

२०८२ बैशाख १४ गते, आईतवार १२:४१

वैशाख १४, २०८२ काठमाडौँ: नेपाल शिक्षक महासंघले आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूलाई स्थानीय तहहरूले धम्क्याएको आरोप लगाएको छ । साथै महासंघले यो परिस्थितिमा विचलित नहुन पनि शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरेको छ ।

National Life

‘आन्दोलनमा सहभागी भएका थुप्रै प्रधानाध्यापक, शिक्षक र कर्मचारी साथीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिने जस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेका छन्,’ महासंघले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानप्रदत्त सामूहिक सौदाबाजीको अधिकार उपयोगप्रति सम्मान गरी यस्ता कार्य नगर्न नगराउन सबै स्थानीय तहहरूलाई आग्रह गर्दै यो परिस्थितिबाट विचलित नहुन सबै शिक्षक कर्मचारी साथीहरूमा अनुरोध गर्दछौँ ।’

महासंघले विभिन्न माग राख्दै २० चैतदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेको छ । महासंघले २५ दिनदेखि जारी आन्दोलनलाई अझ शसक्त बनाउन पनि आग्रह गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले सरकारसँग शिक्षकहरूका मागका विषयमा अनौपचारिक छलफल भइरहेको भन्दै तर, ती छलफलहरू निष्कर्षउन्मुख भने नदेखिएको बताएका छन् । ‘राज्य पक्षसँग अनौपचारिक छलफल चलिरहेका छन् तर अझै ती निष्कर्ष उन्मुख हुन सकेका छैनन् । त्यसैले अन्तिम धक्का दिन सडक प्रदर्शन अझै बलियो हुन आवश्यक छ,’ उनले फेसबुकमा लेखेका छन् ।

आज पनि आन्दोलनका लागि बिहान ११ बजे माइतीघर मण्डालामा जम्मा हुन शिक्षकहरूलाई उनले आग्रह गरेका छन् । उनले आन्दोलनका क्रममा अनुशासित र संयमित हुन पनि आग्रह गरेका छन् ।

विद्यालय शिक्षा ऐनलगायतको माग गर्दै मुलुकभरका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् । शैक्षिक हड्ताल घोषणा गरी जारी आन्दोलनका कारण सामुदायिक विद्यालयका शैक्षिक गतिविधि ठप्प छन् ।

प्रतिकृया