• ४ साउन २०८३, सोमबार
  • १:५९ बिहान

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, १० हजार जरिवाना

प्रकाशित मिति

२०८० आश्विन १० गते, बुधबार ०९:०४

असोज १०, २०८० रसुवा  :  दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ । चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको फेला परेपछि केन्द्र कारवाहीमा परेको हो ।


रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीको नेतृत्वमा रहेको बजार अनुगमन समितिले केन्द्रलाई कारबाहीस्वरूप रु १० हजार जरिवाना गराउँदै सचेत समेत गराएको छ ।

Kamana Sewa

गोसाइँकुण्ड धार्मिक मार्गस्थित चन्दनबारी चिज उत्पादन केन्द्रको भण्डारमा सडेर राखेका चिज बजारमा बिक्री–वितरण भएको भन्ने जनगुनासो बढेपछि बजार अनुगमन समितिले केन्द्रको भण्डारमा छापा मारेको थियो ।

Classic Tech Desktop

सरकारी स्वामित्वको चिज केन्द्रमा उपभोग गर्न नमिल्ने गरी सडेको ७५ केजीभन्दा बढी गुणस्तरहीन चिज फेला परेपछि सो चिज नष्टसमेत गराइएको सहायक प्रजिअ एवं अनुगमन समितिका संयोजक ज्ञवालीले जानकारी दिए ।


केन्द्रद्वारा उत्पादित चिज नष्ट गरिएको यो पहिलो पटक भएको बताइएको छ । गोसाइँकुण्डमा भक्तजनको ओहोरदोहोर भइरहेको धार्मिकमार्गमा अवस्थित चिज केन्द्रबाट प्रसादका रूपमा समेत भक्तजनले चिज खरिद गर्ने भएका कारण बिग्रिएको चिज बिक्री–वितरण नगर्न स्थानीय बासिन्दाले समेत आग्रह गरेका छन् ।


बडादसैँसमेत नजिकिँदै गएको र गुणस्तरहीन खाद्यवस्तु बजारमा बिक्री हुनसक्ने सम्भावनालाई मध्यनजर गरी बजार अनुगमन समितिले बजार अनुगमनलाई आजदेखि तीव्र पारिएको घरेलु उद्योग रसुवाका प्रमुख बृहस्पति तामाङले जानकारी दिए ।

प्रतिकृया