जेलजावलाखेलको नयाँ नेतृत्वका लागि चुनाव आज हुदै
प्रकाशित मिति
२०७६ श्रावण २५ गते, शनिबार १०:५७
ललितपुर। ‘ए’ डिभिजनको फुटबल टोली जावलाखेल युथ क्लबको शनिबार नयाँ नेतृत्वका लागि चुनावका हुँदैछ । वर्तमान अध्यक्ष ठूलोभाइ केसी र पूर्व महासचिव महेन्द्र क्षेत्री अध्यक्षका प्रत्याशी बनेका छन् । अघिल्लो कार्यकालमा पनि केसी र क्षेत्री नै अध्यक्षमा भिडेका थिए । जसमा केसी विजयी भएका थिए । अध्यक्षका उम्मेदवार केसीले क्लबलाई सामाजिक कार्यमा समेत क्रियाशील बनाउने प्रतिबद्धता जनाएका छन् । उनले फुटबललाई भने प्रमुख प्राथमिकतामा राखिरहने स्पष्ट पारेका छन् । उनले बढीभन्दा बढी ग्राउन्डको प्रयोग गरेर आर्थिक उपार्जनको बाटो खोजीने बताएका छन् ।
अर्का प्रत्यासी क्षेत्रीले फुटबलमा जावलाखेललाई अझ माथि लगेर ‘ए’ डिभिजन लिगमा क्लबलाई शीर्ष तीनभित्र पर्ने टोली बनाउने योजनाअघि सारेका छन् । उनले बुद्धिजीवी सल्लाहकार राखेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । अघिल्लो कमिटीले साधारण सभा नै नगरी विभिन्न कार्यक्रम ल्याएको आरोपसमेत लगाइएको छ । फुटबलसँगै आर्थिक र सामाजिक पक्षमा पनि क्लबलाई दरिलो बनाउने उनको योजना छ । अध्यक्षका प्रत्यासी केसी र क्षेत्री दुवै आआफ्नो प्यानल नै बनाएर क्लबको चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
केसी प्यानलबाट उपाध्यक्षमा शेखर श्रेष्ठ, समीर केसी र प्रभातकुमार पौडेल, महसचिवमा राजकुमार केसी, सचिवमा प्रवीण श्रेष्ठ, कोषाध्यक्षमा मौसम कार्की तथा सदस्यमा प्रदीप तण्डुकार, नरेश थापा, प्रवीण खड्का, किरण खडा र कृष्णहरि थापा छन् । यसैगरी, क्षेत्री समूहबाट उपाध्यक्षमा उज्वल कर्माचार्य, किरोजमान सिंह बस्नेत, विष्णु खड्का, महासचिवमा पवन गिरी, सचिवमा कविर बस्नेत, कोषाध्यक्षमा महेशचन्द्र महत तथा सदस्यमा रवि खड्का, राजु बोगटी, दीपेश कार्की, निरज खड्का, विकास कार्की, सुनिल केसी र सहन हमालले उम्मेदवारी दिएका छन् ।
यसैगरी, स्वतन्त्रतर्फ उपाध्यक्षमा अनिल भण्डारी तथा सदस्यमा नामग्याल छिरिङ लामाले उम्मेदवारी दिएका छन् । ३ सय ९० जना सदस्य रहेको जावलाखेलमा ३ सय ८० जनाले मतदान गर्ने सम्भावना छ । शनिबार बिहान ८ बजेबाट जावलाखेल मैदानमा मतदान सुरु गरी दिउँसोसम्म सक्काएर शनिबार अपराह्नबाटै मतगणना सुरु हुने अध्यक्षका प्रत्यासी महेन्द्र क्षेत्रीले जानकारी दिए ।






प्रतिकृया