• ४ साउन २०८३, सोमबार
  • १:४५ बिहान

मिटरब्याज पीडितलाई उपप्रधानमन्त्री श्रेष्ठले भने- माग सम्बोधन हुन्छ, ढुक्क भएर घर फर्किनुहोस्

प्रकाशित मिति

२०७९ चैत्र १९ गते, आईतवार ०१:२५

१९ चैत्र २०७९, काठमाडौँ: उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासनसहित बिदाइ गरेका छन्। अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उनले सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे । मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग सहमति भएपछि उनीहरू गृहजिल्ला फर्कने तयारीमा छन् । उनले पीडितसँग अवस्था बुझ्दै भने, “तपाईंहरू ढुक्क भएर घर फर्किनुहोस् । तपाईंका माग पूरा गर्ने सन्दर्भमा सहमतिअनुसार लाग्नुपर्ने न्यूनतम समयभन्दा धेरै समय लाग्दैन ।”


घर फर्किनुअघि उनीहरूको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । वीर अस्पतालको टोलीले पीडितहरू आश्रय लिइरहेकै स्थान गुम्बा हलमा पुगी परीक्षण गरेको थियो । मन्त्री श्रेष्ठले भने, “उहाँहरू अब फर्कने तयारीमा हुनुहुन्छ । उताबाट करिब दुई साता हिँडेर आउनुभएको छ, त्यसैले उहाँहरूको स्वास्थ्य परीक्षण र आवश्यक उपचार गरिएको हो ।” वीर अस्पतालका मेडिकल अफिसर डा सञ्जय धरेलले सबैजनाको स्वास्थ्यावस्था सामान्य रहेको बताए । “उहाँहरूको अवस्था सामान्य छ । केही दीर्घरोगका बिरामीलाई आवश्यक परीक्षण र परामर्शका लागि सिफारिस गरेका छौँ”, उनले भने ।

Kamana Sewa

पीडितले आफ्नो माग सम्बोधन हुनेमा विश्वस्त भएर फर्किंने तयारीमा रहेको बताए । उनीहरूले गृहमन्त्रीसँग घर फर्किन आवश्यक सवारीको व्यवस्थापनका लागिसमेत माग गरेका छन् । “सहमति अनुसार समस्या समाधान हुने विश्वस्त छौँ”, सिरहाका श्यामकुमार ठाकुरले भने, “हामी जे उद्देश्यले काठमाडौँ आयौँ, सोही अनुसार नीति निर्माणको प्रक्रिया अघि बढेको छ ।” मिटरब्याज पीडितहरू ११ दिन हिँडेर काठमाडौँ आएका थिए ।

Classic Tech Desktop

प्रतिकृया