दक्षिण एसियाका साठी लाख मानिस बाढीको खतरामा
प्रकाशित मिति
२०७६ श्रावण २ गते, बिहीबार ११:४१
एजेन्सी, दक्षिणी एसियाका करिब ६० लाख मानिस बाढीको खतरामा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौं व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख मानिस भारी वर्षाका कारण खतरामा रहेको बताइएको हो । केही दिनयता दक्षिण एसियाका प्रायः देशहरुमा भीषण बाढी आएको छ । प्राप्त पछिल्लो समाचारअनुसार भारतको कुनै एउटा राज्यमा मात्र दश लाख मानिस विस्थापित भएका छन् ।
त्यसैगरी बंगलादेश र नेपालमा पनि बाढीका कारण कैयौं मानिसको मृत्यु भएको छ भने लाखौं व्यक्ति प्रभावित भएका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका दक्षिण एसिया क्षेत्रीय निर्देशक जेभियर क्यासलेनोसले भने, ‘बाढीको प्रकोप दिन प्रतिदिन बढ्दो छ, विस्थापित हुनेहरुको संख्या पनि प्रतिदिन बढिरहेको छ ।’ उनले बाढीका कारण मृत्यु हुने मानिसको संख्या पनि प्रतिदिन बढ्दो रुपमा रहेको जानकारी दिएको समाचारमा जनाइएको छ ।

यही हिसाबले अरु केही दिनसम्म बाढीको प्रकोप बढ्दै जाने हो भने दक्षिण एसियाली देशका कम्तीमा पनि ६० लाख मानिसलाई यस प्रकोपले क्षति पु¥याउन सक्ने अनुमान गरिएको पनि उनले बताए । उनले भने, ‘बाढीले निम्त्याएको संकटको समाधानका लागि कार्यरत छौं, तर मनसुन भर्खरै सुरु भएकोले यसले अझै पनि ठूलो क्षति पुर्याउन सक्ने खतरा छ ।’

भारतीय राज्य आसाममा मात्र दश लाख नागरिक विस्थापित भएका छन् । यहाँ ब्रम्हपुत्र नदी बस्तीमा पस्दा यसले कम्तीमा पनि ७ सय ५० गाउँ नै बगाएको छ । त्यसैगरी, नेपालको पनि दक्षिणपूर्वी भूभागमा बाढीले क्षति पुर्याएको छ । यहाँ बाढीका कारण दर्जनौँ नागरिकको ज्यान गएको छ । बङ्गलादेशमा पनि बाढीले ठूलो असर पुर्याएको छ । जसका कारण यहाँका करिब १४ हजार नागरिक विस्थापित भएका छन् । यहाँ बाढीले ११ हजार भन्दा बढी घर बगाएको छ । भारी वर्षा र यसका कारण बाढी आउने क्रम जारी नै रहेको बताइएको छ ।




प्रतिकृया