१३ सय ६९ जना विद्यार्थीलाई पढाउन १५ जनामात्र शिक्षक
प्रकाशित मिति
२०७८ चैत्र २ गते, बुधबार ०३:०९
२ चैत्र २०७८, काठमाडौँ : धनुषाको मिथिला बिहारी नगरपालिका–३ स्थित माध्यमिक विद्यालय मिथिलेश्वर मौवाहीमा १३ सय ६९ जना विद्यार्थीलाई पढाउने शिक्षक मात्र १५ जना छन् । माध्यमिक स्तरका दुई र निमावि स्तरका तीन जना छन्। त्यसैगरी प्रावि तहका ८ जना शिक्षकमात्र छन्। प्रावि तहमा टिच फर नेपाल र नगरपालिकाबीच भएको सम्झौता अनुसार दुई जना शिक्षक राखिएका हुन्।

१५ जना शिक्षकमध्ये प्रधानाध्यापक लालबाबु यादव प्रायः जसो विभिन्न कार्यक्रमको कागज मिलाउने र अफिस धाउनमै व्यस्त हुन्छन्। नेपालको शिक्षा नियमावलीले विद्यार्थी शिक्षक अनुपात हिमालमा ४० विद्यार्थी बराबर १ शिक्षक, पहाडमा ४५ विद्यार्थी बराबर १ शिक्षक र तराई तथा उपत्यकामा ५० विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने व्यवस्था गरेको छ। जसअनुसार यस विद्यालयमा कम्तीमा २७ जना शिक्षक हुनुपर्ने हो।
शिक्षक अभावमा गुणस्तरीय शिक्षाबाट विद्यार्थी बञ्चित भएको शिक्षक देव नरायण यादवले जानकारी दिए।

एउटै शिक्षक अनुपस्थित भए विद्यालयभर कोलाहल हुन्छ। शिक्षक अनुपस्थित हुँदा प्रावि तहकै शिक्षकले मावि कक्षा पनि लिने गरेको उनले बताए। यद्यपि प्रावि तहका पनि केही शिक्षक मास्टर डिग्री पढेकाले खासै समस्या नभएको उनको भनाइ छ। शिक्षक अभावमा गुणस्तरीय शिक्षा दिन समस्या भइरहेको अर्का शिक्षक विजय कुमार यादवले बताए। उनका अनुसार एउटै कक्षामा सय जनाभन्दा बढी विद्यार्थी ह्याण्डल गर्न शिक्षकलाई समेत हम्मे परिरहेको हुन्छ।
चार जना बस्नुपर्ने एउटा बेन्चमा ६ जना बस्नुपर्छ। कक्षामा ठाउँ पुगिरहेको हुँदैन,’ उनले भने।१३ सय ६९ जना विद्यार्थी रहेको विद्यालयमा शौचालय समेत दुइटा मात्र छ।
नगरपालिका प्रमुख अनिल यादवले संघीय सरकारले दरबन्दी नथप्दा समस्या आएको बताए। यहाँ मात्र होइन देशभर शिक्षकको दरबन्दी कम भएर समस्या भएको छ। हामीले मन्त्रालयमा ध्यानाकर्षण गराएका छौं,’ उनले भने, ‘हामीले दरबन्दी अनुसारको गणित, विज्ञान र अंग्रेजी विषयको शिक्षक टिच फर नेपालसँग समन्वय गरी नियुक्त गरेका छौं।’



प्रतिकृया