मकवानपुरमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
प्रकाशित मिति
२०७८ माघ १९ गते, बुधबार ०४:२२
१९ माघ २०७८, काठमाडौं : मकवानपुरको रातोमाटेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१५ स्थित रातोमाटेमा बुधबार दिउँसो बस र मोटरसाइकल ठक्कर खाँदा उक्त दुर्घटनामा एक जनाले ज्यान गुमाएको र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार दिउँसो बारा जिल्लाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नम्वरको बस र विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३०८१ नम्वरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार बकैया गाउँपालिका वडा नम्वर–७ बस्ने ३७ वर्षीय शिवप्रसाद सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए। दुर्घटनामा परेर गम्भीर घाइते भएका सुवेदीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, दुर्घटनामा परेर मोटरसाइकल चालक दोलखा बस्ने ४६ वर्षीय थनकप्रसाद दुलाल घाइते भएका छन् । उनको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । मृतकको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जानाकारी दिएको छ ।



प्रतिकृया