एक साताका लागि स्थगित भयो संसद् बैठक
प्रकाशित मिति
२०७८ मंसिर २९ गते, बुधबार ०७:२८
२९ मंसिर, काठमाडौं : प्रतिनिधिसभाको मंगलबार शुरु भएको १०औँ अधिवेशन एक साताका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेको अवरोध र नाराबाजीका बीच सञ्चालन भएको संसद् बैठक सभामुख अग्निप्रसाद सापकोटाले एक साताका लागि स्थगित गर्नुभएको हो । प्रतिनिधिसभाको अर्को बैठक आगामी पुस ६ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।
बैठकमा सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश–२०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश–२०७८ र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश–२०७८ पेस गर्नुभयो । त्यसै गरी, रेल्वे अध्यादेश–२०७८, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि संसद्मा पेस भएको छ । संसद् अधिवेशन चालू नरहेको अवस्थामा सरकारले ल्याएको अध्यादेश संसद्को पहिलो बैठकमा नै पेस गर्नुपर्ने प्रावधानअनुसार मंगलबार बसेको संसद् बैठकमा अध्यादेश पेस गरिएको हो ।
एमालेले बैठकको शुरुमै आफ्नो पार्टीले एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै नाराबाजी गरेको थियो । एमालेका संसद्हरूले नाराबाजी गर्दै विरोध जनाएपछि सभामुख सापकोटाले संसदीय विधि र प्रक्रियाभित्र रहेर आफ्ना असहमति राख्न आग्रह गर्नुभएको थियो ।
एमालेका सांसदले बेल घेराउ गरेपछि सभामुखले सभाको नियमावलीतर्फ ध्यानाकर्षण गराउँदै संसदीय व्यवस्था सिद्धान्त मात्र नभएर समन्वयात्मक अभ्यास पनि भएको स्मरण गराउनुभयो । तर, एमालेका सांसदले नाराबाजी जारी नै राखेपछि सभामुखले पुनः सरकारलाई काम गर्न दिन र संसद् सञ्चालनमा सघाउन सांसद्हरूको ध्यानाकर्षण गराउनुभयो । जनप्रतिनिधिको सर्वोच्च निकाय संसद् आफ्नो नियम र विधि पालनामा बढी सचेत हुनुपर्ने भएकाले प्रक्रियाभित्र रहेर असहमति राख्न पटक–पटक उहाँले आग्रह गर्नुभएको थियो ।
सभामुखले बैठक सञ्चालनका लागि प्रतिनिधिसभा नियमावली–२०७५ को नियम ६ को उपनियम २ बमोजिम पटक–पटक आग्रह गर्दै सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्मा छलफल गर्न नपाइने संवैधानिक व्यवस्थाबारे पनि ध्यानाकर्षण गराउनुभएको थियो ।








प्रतिकृया