• 4:23 am

बंगलादेश निजी क्षेत्रबाट बिजुली किन्न तयार

प्रकाशित मिति

२०७८ मंसिर २९ गते, बुधबार ०७:३६

२९ मंसिर, काठमाडौँ : बंगलादेशले नेपालको बिजुली निजी क्षेत्रसँग समेत सहकार्य गरी दीर्घकालीन विद्युत् खरिद सम्झौता पीपीए गरेर लैजाने तयारी थालेको छ । बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले यस्तो तयारी भइरहेको बताए ।


नेपालका लागि यो महत्त्वपूर्ण उपलब्धि रहेको परिसंघका अध्यक्ष विष्णु अग्रवालले बताए । बंगलादेशले नेपालमा उत्पादन हुने बिजुली आउँदो वर्षबाटै खरिद गर्नेसमेत प्रतिबद्धता जनाएको छ । ‘नेपालमा उत्पादित बिजुली खपत नभएर खेर गइरहेको अवस्था छ । त्यो विद्युत् हामी खरिद गर्न सक्छौं,’ बंगलादेशका ऊर्जामन्त्रीको भनाइ उद्धृत गर्दै परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


राज्यमन्त्री हमिदले नेपालबाट बिजुली आयातका लागि प्रसारणलाइनको पूर्वाधार सुदृढ गर्ने र डेडिकेटेड लाइनसमेत निर्माण थालनी गरिने बताएका छन् । बंगलादेशले सन् २०२६ सम्ममा नेपालबाट ३५ सय मेगावाटसम्म बिजुली खरिद गर्ने र त्यसका लागि पूर्वतयारीको काम सन् २०२२ को मार्चभित्र सकिसक्ने प्रतिबद्धता पनि उनले जनाए ।


बंगलादेशको तयारी र प्रतिबद्धतालाई मूर्त रूप दिन नेपाल सरकारले निजी क्षेत्रलाई पनि विद्युत् व्यापारको वातावरण बनाइदिनुपर्ने परिसंघका अध्यक्ष अग्रवालको भनाइ छ ।


नेपालको बंगलादेशसँग नेपालले सरकारीस्तरबाटै पनि बिजुली बेच्न प्रयास गरिरहेको छ । गत भदौ अन्तिम साता बसेको दुई देशका ऊर्जा सचिव स्तरीय जोइन्ट स्टेयरिङ कमिटी बैठकबाटै बंगलादेशले नेपालबाट बिजुली बेच्न सकिने नसकिनेबारे सुनिश्चितता खोजेको थियो ।

प्रतिकृया