• 3:38 pm

तीन घन्टामै नेप्से सर्किट ब्रेक

प्रकाशित मिति

२०७८ मंसिर २९ गते, बुधबार ०७:२१

मंगलबार सेयर बजार परिसूचक नेप्से कारोबार सुरु भएको तीन घन्टा नपुग्दै ६ प्रतिशतले बढेर बीचैमा कारोबार रोकिएको छ । आइतबार नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिका कारण लगानीकर्ता आत्तिएर बिक्रीमा चाप परेपछि करिब ८० अंकले घटेको नेप्से परिसूचकमा मंगलबार नाटकीय सुधार आएको हो ।


मंगलबार नेप्से एक सय ३७ अंकले बढेर दुई हजार चार सय १८ दशमलव ८५ बिन्दुमा पुगेपछि त्यस दिनका लागि कारोबार बन्द गरिएको छ । त्यस दिन सेयर मूल्य बढेका एक सय ८८ कम्पनीमध्ये ४७ वटा कम्पनीको सेयर सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ । घटेको बजारमा लगानीकर्तामा सेयर किन्नेको चाप पनि बढेको देखिन्छ, जसका कारण पनि बजारमा एकाएक सुधार आएको लगानीकर्ता बताउँछन् ।


कारोबारमा आएका १३ वटा समूहको सूचक सबै हरियो बनेका छन् । लगानीकर्ता विशेष गरी फाइनान्स र जलविद्युत्तर्फ आकर्षित भएका छन् । जलविद्युत् समूहको सूचक ७ दशमलव ८४ प्रतिशतले बढेको छ भने फाइनान्सको ८ दशमलव ६२ प्रतिशतले बढेको छ । त्यस्तै, माइक्रो फाइनान्स, वाणिज्य बैंक, निर्जीवन बिमा, जीवन बिमालगायत समूहको सूचकमा पनि उलेख्य सुधार आएको छ ।


तीन घन्टा पनि पूरा कारोबार नहुँदा धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २० कम्पनीको ४० लाख कित्ता–इकाइ सेयर खरिद–बिक्री हुँदा एक अर्ब ८४ करोड रुपैयाँको मात्र कारोबार हुन सक्यो । छोटो अवधिमा भएको सेयर खरिद–बिक्रीमा नबिल बैंकको कारोबार सबैभन्दा धेरै भएको छ । बैंकको नौ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेसनल हाइड्रोपावर, आइसिएफसी फाइनान्स, अपि पावर कम्पनी, अरुण काबेली पावरको सातदेखि चार करोड रुपैयाँसम्मको मात्र कारोबार भएको छ ।

प्रतिकृया