• २१ जेठ २०८३, बिहीबार
  • ३:२३ बिहान

झापा पुगेर ओलीको कटाक्ष : माधवले वडा सदस्य जित्दैनन्, प्रचण्ड छट्टू नेता !

प्रकाशित मिति

२०७८ भाद्र २९ गते, मंगलवार ०३:५५

२९ भाद्र, २०७८ काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेर पूर्व सहयात्री माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डप्रति खनिएका छन् । उनले नेपाल र प्रचण्ड दुवैले नेपालको कम्युनिस्ट आन्दोलन अघि बढाउन नसक्ने दाबी समेत गरे । ओलीले पार्टी फुटाएर गएका माधव नेपालले आगामी चुनावमा वडा सदस्य समेत जित्न नसक्ने दाबी पनि गरे । मंगलबार झापामा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले माधव नेपालले पार्टी बनाउन नजानेको फुटाउन मात्रै जानेको बताए ।


‘माधव नेपालले पार्टी बनाउँदैनन्, एमाले फुटाउन खोजेको हो बनाउन होइन, फाइदा लिनुसम्म लिए, प्रधानमन्त्री, नेता भए, गुटबन्दी गरे, एमालेलाई माधव नेपालले २४० मध्ये ३३ मा झारे र आफै राजीनामा गरे’, ओलीले विगत सम्झँदै भने, ‘राजीनामा दिएपछि चुप लागेर बस्नुपर्दैन ? प्रधानमन्त्री बनाइयो, तर सकिन भनेर हिँडे तर फेरि मैलाई चाहियो भन्छन् के हो रु के फेरि पार्टी रसातलमा पुर्‍याउन ?’

Kamana Sewa

उनले आफूहरूले माधवलाई कम्युनिस्ट आन्दोलनमा जोडेको तर पुन छुट्टिएको बताए । ‘माधव नेपाल यसरी जोडिएका रहेछन् कि रसायन पुगेकै रहेनछ, पक्लक्क फुक्ल्यो ।’ ओलीले माधव नेपालले पार्टी फुटाउन नसकेको दाबी पनि गरे । उनले एमाले नफुटेको बरु चोइटिएको भन्दै ओजन नघटेको र पिलो पुलुत्त निस्केको मात्रै बताए ।

Classic Tech Desktop

ओलीले एमालेले अबको चुनावमा पनि एमालेले नै जित्ने भन्दै प्रचण्डले केही दिनअघि सही कुरा प्वाक्क बोलेको बताए । ‘प्रचण्डले मुखबाट प्वाक्क निकाल्नुभयो । हामीले वडामा पनि जित्न हम्मेहम्मे पर्ने रहेछ कि जस्तो, उहाँले कुरा बुझ्नुभयो । तर माधव नेपालले त वडाध्यक्ष त के वडा सदस्य पनि जित्दैनन्, के कारणले उनलाई भोट हाल्छन् ?’, ओलीले प्रश्न गरे । अध्यक्ष ओलीले प्रचण्ड असल बाबु, काका र असल ससुरो, सम्धी भए पनि धोकेवाज,बेइमान छट्टू नेता भएको दाबी गरे ।


उनले के को आँटले धम्क्याउन खोजेको आफूलाई आश्चर्य लागेको चन्दै प्रचण्डको पछि नलाग्न र अलमलमा नपर्न आव्हान गरे । ‘माधव नेपालको राजनीति नै नभएको भन्दै उनले न जादु, न मन्तर केही छैन, कसैले लगाइदिएको त्यो काममा लाग्नुभएको छ । अव कमरेड माधव नेपाल होइन एमाले विरोधी र जनविरोधी माधव नेपाल’, ओलीको आरोप छ । उनले कम्युनिस्ट आन्दोलन धराशायी बनाउन लागेको भन्दै त्यो सपना पुरा हुन नदिने घोषणा गरे ।


उनले वामपन्थीको सरकार ढालेर प्रतिक्रियावादीको सरकार बनाउन माधव नेपालले नै भूमिका खेलेको भन्दै उनले २ महिना बित्दा समेत सरकार गठन गर्न नसकेबाटै हैसियत देखिएको बताए । उनले एमाले नेकपाकै निरन्तरता भएको भन्दै प्रचण्डले पनि आफ्नो गुटमात्रै लिएर गएको बताए । उनले जहाँ नेपाली त्यहाँ एमाले भन्दै देशमा मात्रै होइन, विदेशमा पनि एमाले, पसल, बजार, हवाई मैदान, परेड खेल्ने ठाउँ, कलेज स्कुल, विद्यालय विश्वविद्यालयमा एमाले भएको बताए ।


कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य अग्नि खरेलले विद्रोहको थलोमा झापामा माओवादीहरू सकिँदै गएको बताए । उनले क्रान्तिका लागि नभई अवसर पाउन र कुण्ठा पुरा गर्न मात्रै केही नेताहरूले एमाले विभाजन गरेको आरोप लगाए । खरेलले चोइटिएर गएको माधव नेपाल समूहले जनताको बहुदलीय जनवाद (जबज) छाडिसकेकोले उक्त पार्टीले कम्युनिस्ट आन्दोलनलाई उठाउन नसक्ने दाबी समेत गरे ।


‘क्रान्तिको नेतृत्व सही विचारले मात्रै गर्न सक्छ, माधव नेपालहरूसँग त्यो विचार नै छैन । उहाँहरूले जबज छोडेर किन पार्टी फुटाउनुभयो ? भनेर तपाईँहरूले सोध्नुस्’, खरेलले जिल्लाका कार्यकर्ताहरूलाई सुझाव दिए । सत्ता गठबन्धन अवसरवादीहरूको गठबन्धन भएको भन्दै उनले ५ जना प्रधानमन्त्री एकातिर र अर्कोतिर केपी ओली मात्रै भए पनि ओली नै भारी भएको सुनाए । कार्यक्रममा अन्य पार्टी छोडेर एमाले प्रवेश गर्नेहरूलाई स्वागत गरिएको थियो ।

प्रतिकृया