• ११ असोज २०८३, आइतबार
  • १२ः०५ दिउँसो

कोरोना जितेर देशलाई जिताउने सर्जियो बुस्क्वेटस्

प्रकाशित मिति

२०७८ असार २२ गते, मंगलवार १२:०९

काठमाडौँ : युरो २०२० अभियान सर्जियो बुस्क्वेट्सले सोचेजस्तो भएन । प्रतियोगिता सुरु हुन केही दिनअघि मात्रै उनी कोरोना संक्रमित भए । त्यसपछि १० दिन आइशोलेसनमा बसे । जसकारण, स्विडेन र पोल्यान्डसँगका सुरुवाती दुई खेल गुमाए, यी खेलमा बराबरीमै रोकिएपछि स्पेनको टोलीमाथि धेरै प्रश्नहरु उठेका थिए ।

National Life

जवाफमा प्रशिक्षक लुईस इरिक्यु भन्थें, ‘मैले बुस्क्वेट्सलाई कुरिरहेको छु ।’ उनको निर्णय सही देखियो । जब बुस्क्वेटस् मैदान फर्किए, तब स्पेनले लगातार एकपछि अर्को खेल जितिरहेको छ । यी स्टरा मिडफिल्डरले स्लोभाकियाविरुद्धको खेल जिताउँदै स्पेनलाई दोस्रो चरणको यात्रा गराउन महत्वपूर्ण भूमिका खेले । जसकारण, उनी म्यान अफ द म्याच घोषित भए । क्रोयशियाविरुद्ध निर्धारित समयमा ३–३ को बराबरीपछि संकटमा पुगेको स्पेनलाई उठाउन उनकै भूमिका महत्वपूर्ण थियो, यस खेलमा पनि उनी म्यान अफ द म्याच घोषित भए ।


भलै, उनले स्विचरल्यान्डविरुद्धको खेलमा टाइब्रेकरमा गोल गर्न सकेनन् । तर यस खेलमा पनि उनको प्रदर्शन उत्कृष्ट नै थियो । स्पेनिस कप्तानले इटलीको चुनौती चिर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास छ । उनी टोलीको सामुहिकतामा विश्वास गर्छन् । ‘हाम्रो समूहमा भएजस्तो वातावरण मैले विरलै देखेको छु,’ उनी भन्छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

आइशोलेसनबाट फर्किएका बुस्क्वेट्सलाई टोलीका साथीभाईले ‘स्ट्यान्डिङ ओभेसन’ नै दिएका थिए । जसकारण, स्लोभाकियाविरुद्धको जीतपछि उनी भावूक बने र रोए । कप्तानका रुपमा बुस्क्वेटस्ले स्पेनका लागि इतिहास लेख्दैछन् । राष्ट्रिय टिमबाट २०१० को विश्वकप र २०१२ को युरोकप जितिसकेका यी खेलाडीले ठूला प्रतियोगितामा टोलीको कप्तानी गरेको भने पहिलो पटक हो ।


यसअघि २०१६ को युरोकप र २०१८ को विश्वकपमा सर्जियो रामोस कप्तान थिए र यी दुबै प्रतियोगितामा स्पेन अन्तिम १६ बाटै बाहिरिएको थियो । स्पेनलाई सेमिफाइनलसम्म ल्याएर बुस्क्वेट्सले आफ्नो नेतृत्वदायी भूमिका प्रमाणित गरिसकेका छन् । यद्यपी, इटलीले दिने चुनौतीबारे उनी राम्रोसँग जानकार छन् । युरो २०१६ मा पनि इटलीले नै स्पेनलाई अन्तिम १६ मा हराएको थियो ।


११ वर्षअघि स्पेनका तत्कालीन प्रशिक्षक भिसेन्ट डेल बोस्क्युलाई सोधिएको थियो : ‘फेरि फुटबल खेल्न पाउनुभयो भने कुन खेलाडीजस्तो बन्न चाहनुहुन्छ ?’ उनको जवाफ थियो, ‘सर्जियो बुस्क्वेट्स ।’ अहिलेका प्रशिक्षक इरिक्युले बुस्क्वेट्समा ठूलो भरोसा छन् । अब, प्रतिक्षा इटलीको छ । -एजेन्सी

प्रतिकृया