आजपनि काठमाडौंको बुद्धनगरमा आत्मदाह प्रयास, ५० प्रतिशत शरीर जलेका पुरुषको उपचार हुँदै
प्रकाशित मिति
२०८३ असार २७ गते, शनिबार ०९:२१
२७ असार २०८३ काठमाडौं – काठमाडौंको बुद्धनगरमा एक पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। प्रहरीका अनुसार बुद्धनगरमा बस्दै आएका ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान करिब ६ः१५ बजे आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएका हुन्।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार राउतलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको छ। चिकित्सकका अनुसार उनको शरीरको करिब ५० प्रतिशत भाग जलेको छ। घटनाका बेला राउतकी श्रीमती र छोरा घरमा नरहेको प्रहरीले जनाएको छ। उनी श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए।

प्रहरीका अनुसार आत्मदाह प्रयासको कारण हालसम्म खुल्न सकेको छैन। छिमेकीको भनाइ उद्धृत गर्दै प्रहरीले शुक्रबार राउत र उनका छोराबीच केही विषयमा छलफल भएको जानकारी पाए पनि घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।





प्रतिकृया