• २० असार २०८३, शनिबार
  • १:५४ बिहान

नेपाल एसबिआई बैंकको ३३औँ वार्षिकोत्सवमा एमडी कप फुटसल प्रतियोगिता आयोजना

प्रकाशित मिति

२०८३ असार १८ गते, बिहीबार ०६:५३

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशका कर्मचारीहरूको सहभागितामा ‘एमडी कप फुटसल प्रतियोगिता–२०८३’ आयोजना गरेको छ। काठमाडौंस्थित धनयन्तरी फुटसल मैदानमा २०८३ असार २८ गते सम्पन्न प्रतियोगितामा बैंकका सातै प्रदेश कार्यालय तथा प्रधान कार्यालयका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतियोगिताले कर्मचारीबीच आपसी समन्वय, सहकार्य तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बैंकले जनाएको छ। बैंकका अनुसार यस्ता खेलकुद गतिविधिले कार्यस्थल बाहिर पनि टोली भावना (टिमवर्क), सकारात्मक ऊर्जा तथा संस्थागत सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

Kamana Sewa

प्रतियोगितामा व्यवस्थापन टोली र महिला टोलीबीच प्रदर्शनी खेल आयोजना गरिएको थियो भने पुरुषतर्फ प्रदेश कार्यालय तथा केन्द्रीय कार्यालयका टोलीबीच प्रतिस्पर्धा भएको थियो।

Classic Tech Desktop

कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत प्रवीण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत रोशन कोइराला, बागमती प्रदेश प्रमुख सुशील राज श्रेष्ठ लगायत बैंकका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

देशभरबाट १५० भन्दा बढी कर्मचारी सहभागी भएको प्रतियोगिताले संस्थाभित्र एकता, सहकार्य र आपसी सम्बन्धलाई अझ सुदृढ बनाएको बैंकले जनाएको छ।

कार्यक्रमको समापनमा प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी तथा नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले विभिन्न विधाका विजेता तथा सहभागी टोलीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत तिवारीले देशभरका कर्मचारीहरूको सक्रिय सहभागिताप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले कर्मचारी संलग्नता, सहकार्य र स्वस्थ संस्थागत संस्कृतिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकले देशभर १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा १ कर्पोरेट कार्यालय मार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

प्रतिकृया