• १५ असोज २०८३, बिहीबार
  • २ः४५ दिउँसो

देशभर मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति

२०८३ असार १७ गते, बुधबार ०९:०४

१७  असार २०८३ काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार आज गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा पनि मनसुन फैलिएको छ।

National Life

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा कोशी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्णतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ भने पहाडी क्षेत्रका धेरै स्थान र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, आज राति पनि देशभर पूर्णतया बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा तथा पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

विभागले भारी वर्षा हुन सक्ने क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक यातायात प्रभावित हुन सक्ने जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिकृया