प्रधानमन्त्रीको ‘एक्स्ट्रा अर्डिनरी’ टिप्पणीपछि रास्वपा महामन्त्रीको यस्तो भनाइ
प्रकाशित मिति
२०८३ आश्विन १५ गते, बिहीबार ०१:२६
१५ असोज २०८३ काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले आफू औसत क्षमताको इन्जिनियर भए पनि एक्स्ट्रा अर्डिनरी बन्ने प्रयास गरिरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै आचार्यले विभिन्न क्षेत्रमा क्षमता, नियत र तथ्यका आधारमा अब्बल व्यक्तिहरू आफूलाई एक्स्ट्रा अर्डिनरी लाग्ने बताए ।
उनले भने, ‘म औसत क्षमताको इन्जिनियर भएर होला, मलाई हरेक विधाका क्षमता, नियत र तथ्यमा अब्बल व्यक्तिहरू एक्स्ट्रा अर्डिनरी लाग्छ । म आफैँ पनि एक्स्ट्रा अर्डिनरी बन्न कोसिस गर्दैछु ।’
आचार्यले प्रधानमन्त्री बालेन शाहको नाम नलिए पनि उनको भनाइ बुधबार इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग प्रधानमन्त्री शाहले गरेको छलफलसँग जोडिएको देखिन्छ । उक्त छलफलमा प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदलाई ‘एक्स्ट्रा अर्डिनरी’ भन्दै नयाँ आइडिया र सिर्जनात्मकतामा जोड दिन आग्रह गरेका थिए ।
शून्य समयमा आचार्यले नेपालको मुद्राको आफ्नै सिम्बोल बनाउनुपर्ने विषय पनि उठाए । उनले डलर, युरो, पाउन्ड, जापानी येन, चिनियाँ युआन र भारतीय रुपैयाँका आफ्नै सिम्बोल रहेको उल्लेख गर्दै नेपालको मुद्राको पनि मौलिक सिम्बोल आवश्यक रहेको बताए ।
देवनागरीको मौलिकता र राष्ट्रिय स्वाभिमान झल्किने मुद्राको सिम्बोल बनाउन उनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराए ।








प्रतिकृया