होटल–रेस्टुरेन्टको खाद्य गुणस्तरमा कडाइ, अस्वच्छ खाना बेच्नेलाई कडा कारबाही गर्न गृहको निर्देशन
प्रकाशित मिति
२०८३ असार १६ गते, मंगलवार ०६:५९
१६ असार २०८३ काठमाडौं – गृह मन्त्रालयले देशभर सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टहरूको खाद्य गुणस्तर, सरसफाइ तथा नागरिक स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउन विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले गुणस्तरहीन तथा अस्वच्छ खाना बिक्री–वितरण गर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गर्न तथा बजार अनुगमनलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
मन्त्रालयका शाखा अधिकृत संगम सापकोटाका अनुसार होटल तथा रेस्टुरेन्टमा खाद्य स्वच्छता र गुणस्तर कमजोर रहेको भन्दै सर्वसाधारणबाट व्यापक गुनासो आएपछि नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकार सुनिश्चित गर्न यस्तो कदम चालिएको हो।

निर्देशनअनुसार अब नियमित, सघन तथा आकस्मिक बजार अनुगमन गरिनेछ। अनुगमनलाई औपचारिकतामा सीमित नराखी परिणाममुखी बनाइने तथा नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरी कानुन उल्लङ्घन गर्ने जो–कोहीमाथि कडा कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको छ।

त्यस्तै, प्रत्येक जिल्ला प्रशासन कार्यालयमा नागरिकले सहज रूपमा गुनासो दर्ता गर्न सक्ने गरी गुनासो सुनुवाइ संयन्त्र, हटलाइन वा द्रुत सेवा डेस्क तत्काल स्थापना गर्न निर्देशन दिइएको छ। प्राप्त हुने हरेक गुनासोलाई उच्च प्राथमिकताका साथ छिटो समाधान गर्न पनि मन्त्रालयले जोड दिएको छ।
स्थानीय तहमा देखिने यस्ता समस्या प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयबाटै समाधान गर्नुपर्ने व्यवस्था गरिएको छ। सामान्य प्रकृतिका गुनासोका लागि नागरिक मन्त्रालय वा केन्द्रसम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले यो व्यवस्था गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।
साथै, जिल्लाको कार्यसम्पादन मन्त्रालयले प्रत्यक्ष रूपमा सुपरिवेक्षण गर्ने भएकाले कुनै पनि प्रकारको असक्षमता वा उदासीनता स्वीकार्य नहुने चेतावनी पनि दिइएको छ। गृह मन्त्रालयले निर्देशनको प्रभावकारी कार्यान्वयनबाट नागरिक केन्द्रित शासन प्रणालीलाई थप सुदृढ बनाउने, बजारमा विधिको शासन कायम गर्ने तथा सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य सेवा सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ।





प्रतिकृया