• १५ असोज २०८३, बिहीबार
  • ५ः३८ बिहान

होटेल–रेस्टुरेन्टलाई आवश्यकताभन्दा बढी ग्यास नराख्न आयल निगमको निर्देशन

प्रकाशित मिति

२०८३ श्रावण २९ गते, शुक्रबार ०१:३१

२९ साउन २०८३ काठमाडौं – नेपाल आयल निगमले होटल, रेस्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न निर्देशन दिएको छ। निगमले बिहीबार सूचना जारी गर्दै अनावश्यक रूपमा ग्यास सिलिन्डर भण्डारण नगर्न व्यावसायिक प्रतिष्ठानलाई आग्रह गरेको हो। निगमका अनुसार बजारमा १४.२ किलोग्रामको भरि ग्यास सिलिन्डरको आपूर्ति तथा बिक्री वितरण भइरहेको छ।

National Life

गत असार ३१ गतेदेखि बजारमा १४.२ किलोग्रामका भरि सिलिन्डर बिक्री वितरण हुँदै आएको निगमले जनाएको छ। साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री वितरण भइरहेको भए पनि सर्वसाधारणले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो आएपछि निगमले अनुगमन थालेको थियो।

निगमको द्रुत प्रतिकार्य डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा कतिपय होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस लगायतका प्रतिष्ठानमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको पाइएको निगमले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

निगमले त्यस्ता प्रतिष्ठानलाई मौज्दातमा रहेका अनावश्यक ग्यास सिलिन्डर तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्नसमेत निर्देशन दिएको छ।

सर्वसाधारण उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन आपूर्ति व्यवस्थापनमा सहयोग गर्न निगमले व्यावसायिक प्रतिष्ठानलाई आग्रह गरेको छ।

प्रतिकृया