• १५ असोज २०८३, बिहीबार
  • २ः४५ दिउँसो

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

प्रकाशित मिति

२०८३ असार १६ गते, मंगलवार ०५:१३

१६ असार २०८३ काठमाडौं – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार निजामती कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।

National Life

मन्त्रालयले सूचना जारी गर्दै स्वीकृत बिदा समाप्त भएपछि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेको पाइएकाले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। उनीहरूले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति तथा डाइभर्सिटी भिसा (डीभी) लिएको पाइएको मन्त्रालयले उल्लेख गरेको छ।

निजामती सेवा ऐनअनुसार बहालवाला कर्मचारीले विदेशी मुलुकको आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन पाउँदैनन्। साथै, स्वीकृत बिदा सकिएको ३० दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्ने कानुनी व्यवस्था रहेकामा त्यसको उल्लङ्घन भएको मन्त्रालयको भनाइ छ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्रालयले निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कारबाही प्रक्रिया अघि बढाउनुपर्ने अवस्था देखिएको जनाउँदै १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न निर्देशन दिएको छ। साथै, विदेशमा बसोबास गर्दै लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीको अवस्थाबारे पनि अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ।

प्रतिकृया