प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे संसदमा प्रश्न, राष्ट्रहितमा थियो कि थिएन ? : सांसद राई
प्रकाशित मिति
२०८३ असार १४ गते, आईतवार ०२:४९
१४ असार २०८३ काठमाडौं- श्रम संस्कृतिका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट जवाफ माग गरेका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको आफूहरूले विरोधका लागि मात्र विरोध नगरेको बताए।
‘के प्रधानमन्त्रीले बोलेको उक्त अभिव्यक्ति राष्ट्रको हितमा थियो?’ भन्दै उनले प्रश्न गरे, ‘यदि राष्ट्रको हितमा थियो भने अभिलेखबाट नहटाइयोस्, राष्ट्रघाती थियो भने तुरुन्त हटाइयोस्।’

उनले पार्टीभन्दा देश ठूलो हुने उल्लेख गर्दै संसदमा उठेको विषयको जवाफ प्रधानमन्त्रीले सदनमै दिनुपर्ने बताए। ‘संसदमा जवाफ मागिरहेका बेला चितवनतिर गएर स्पष्टीकरण दिने होइन,’ उनले भने।

सांसद राईले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र अखिल नेपाल फुटबल संघ (एन्फा) सम्बन्धी निलम्बनको विषय उठाउँदै त्यसले हजारौँ नेपाली खेलाडीको भविष्य प्रभावित भएको बताए। उनले निलम्बन फुकुवाका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने माग पनि गरे।




प्रतिकृया