विद्युतीय राहदानी छपाइ प्रकरणबारे संसदमा चासो, सरकारसँग जवाफ माग
प्रकाशित मिति
२०८३ असार ५ गते, शुक्रबार ०१:१०
५ असार २०८३ काठमाडौं – विद्युतीय राहदानी छपाइ प्रकरण सम्बन्धमा सार्वजनिक भएका समाचारबारे प्रतिनिधिसभाका सांसदहरूले सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकको प्रारम्भमै विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढालाई बोल्न समय दिएका थिए। सांसद बुढाले विद्युतीय राहदानी छपाइ प्रकरणबारे सार्वजनिक समाचारका विषयमा सरकारको धारणा माग गरे।
राप्रपाकी सांसद खुश्बु ओलीले पनि उक्त प्रकरणमा सरकारको जवाफ आवश्यक रहेको बताइन्। बैठकमा एमाले सांसद गुरुप्रसाद बरालले विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रियालाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिए भने नेकपाका सांसद गणेशबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति असहमति जनाए।
यस्तै, श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले रक्षा मन्त्रालयको बजेटसम्बन्धी विवरण आफूले हेर्न नपाएको गुनासो गर्दै भारतको पटनामा नेटवर्किङका नाममा नेपाली नागरिक बन्धक बनाइएको भनिएको घटनाबारे सरकारसँग स्पष्ट पार्न माग गरे।








प्रतिकृया