• २ असार २०८३, मंगलबार
  • १:२६ बिहान

नेपाल–चीन सहकार्य गहिरो बनाउन परराष्ट्रमन्त्री खनालको जोड

प्रकाशित मिति

२०८३ असार १ गते, सोमबार ०१:४७

१ असार २०८३ बेइजिङ – चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल ले जलवायु परिवर्तन, हिमालय संरक्षण र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा नेपाल–चीन सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । चिनियाँ विज्ञान प्रतिष्ठान (CAS) र तिब्बती पठार अनुसन्धान संस्थान (ITPCAS) ले आयोजना गरेको उच्चस्तरीय अन्तरक्रियामा बोल्दै मन्त्री खनालले हिमालय क्षेत्रको जलवायु संकट नेपाल र चीन मात्र नभई सम्पूर्ण दक्षिण एसियाको साझा चुनौती भएको बताए ।

उनले तापक्रम वृद्धि, हिमनदी पग्लिने, हिमताल विस्फोट र बाढीको जोखिम बढ्दै गएको उल्लेख गर्दै यी समस्याको समाधान वैज्ञानिक अनुसन्धान, तथ्यमा आधारित नीति निर्माण र आधुनिक पूर्वसूचना प्रणालीबाट मात्र सम्भव हुने धारणा राखे ।

Kamana Sewa

मन्त्री खनालले मनसुनको ढाँचामा आएको परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै कृषि, खाद्य सुरक्षा र पूर्वाधारमा गम्भीर असर परिरहेको बताए । साथै हिमालय क्षेत्रलाई ‘एसियाको जलभण्डार’ भन्दै यसको संरक्षण क्षेत्रीय प्राथमिकता हुनुपर्नेमा जोड दिए ।

Classic Tech Desktop

कार्यक्रममा चिनियाँ पक्षले नेपालसँगको वैज्ञानिक सहकार्य विस्तार गर्न इच्छुक रहेको जनाएको थियो । हालसम्म करिब १५० नेपाली विद्यार्थी तथा अनुसन्धानकर्ताले चिनियाँ संस्थासँग आबद्ध भएर अध्ययन तथा अनुसन्धान गरिसकेको जानकारी पनि दिइएको छ ।

चिनियाँ वैज्ञानिकहरूले हिमालयलाई ‘तेस्रो ध्रुव’ का रूपमा वर्णन गर्दै जलवायु परिवर्तनको प्रभाव अध्ययनका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

दुवै पक्षले जलवायु परिवर्तन, हिमनदी अध्ययन, जैविक विविधता संरक्षण, विपद् जोखिम न्यूनीकरण र अनुसन्धान पूर्वाधार विकासका क्षेत्रमा सहकार्यलाई थप संस्थागत गर्ने प्रतिबद्धता जनाएका छन् । तीन दिने चीन भ्रमणमा रहेका मन्त्री खनालले सोमबार साँझ चिनियाँ विदेशमन्त्री वाङ यीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया