• २८ जेठ २०८३, बिहीबार
  • १२:३४ बेलुका

कांग्रेस क्रियाशील सदस्यता अध्यावधिकको समय आज सकिँदै

प्रकाशित मिति

२०८३ जेष्ठ २८ गते, बिहीबार १०:४९

२८ जेठ २०८३ काठमाडौं – नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समयसीमा आज राति १२ बजे सकिँदै छ। पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले समयभित्रै सदस्यता अध्यावधिक गरिसक्न सबै क्रियाशील सदस्यलाई आग्रह गरेका छन्।

पार्टीका अनुसार क्रियाशील सदस्यता अध्यावधिक गर्न योग्य ७ लाख ८२ हजार २०९ सदस्यमध्ये बुधबार बेलुकासम्म ४ लाख ५७ हजार ३६६ जनाले सदस्यता अध्यावधिक गरिसकेका छन्। साथै थप १ लाख २४ हजार ७४८ जनाले फाराम पेस गरी प्रक्रियामा सहभागी भइसकेका छन्।

Kamana Sewa

महामन्त्री पौडेलले अन्तिम समयमा एकैपटक धेरै सदस्यले फाराम भर्दा प्राविधिक समस्या आउन सक्ने भएकाले ढिलाइ नगरी तत्काल अध्यावधिक प्रक्रिया पूरा गर्न आग्रह गरेका छन्। उनले कांग्रेसको वेबसाइटमार्फत आफ्नै मोबाइलबाट सहज रूपमा सदस्यता अध्यावधिक गर्न सकिने जानकारी दिँदै आवश्यक परे वडा सभापति वा जानकार व्यक्तिको सहयोग लिन सुझाव दिएका छन्।

Classic Tech Desktop

कांग्रेसले सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित र डिजिटल बनाउन अनलाइन माध्यमबाट अध्यावधिक अभियान सञ्चालन गरिरहेको जनाएको छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार केही अवरोधका प्रयास भए पनि अभियान देशभर उत्साहजनक रूपमा अघि बढिरहेको छ।

यसबीच पार्टी संस्थापन पक्षले सदस्यता अध्यावधिक नगर्ने सदस्यलाई १५औँ महाधिवेशनमा सहभागी हुन नदिने नीति लिएको छ। महामन्त्री पौडेल नेतृत्वको समितिले जारी गरेको परिपत्रमा समयसीमाभित्र सदस्यता अध्यावधिक नगर्नेले महाधिवेशनमा भाग लिन नपाउने स्पष्ट उल्लेख गरिएको छ।

पौडेलले वरिष्ठ नेताहरूसँग पटक–पटक छलफल भइसकेकाले समयसीमा थपिने सम्भावना नरहेको बताएका छन्। यद्यपि, इतर पक्षका नेताहरूले सदस्यता विवाद प्राविधिकभन्दा बढी राजनीतिक विषय भएकाले थप संवादमार्फत समाधान खोज्नुपर्ने धारणा राख्दै आएका छन्।

प्रतिकृया