• २४ भदौ २०८३, बुधबार
  • ११ः३१ राती

रास्वपाको संगठन विस्तार तीव्र : ५६ जिल्लामा अधिवेशन सम्पन्न, मधेशका सबै जिल्लामा चुनावी प्रतिस्पर्धा

प्रकाशित मिति

२०८३ जेष्ठ २५ गते, सोमबार १२:०९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशव्यापी संगठन विस्तार र आन्तरिक लोकतन्त्रलाई तीव्र बनाउँदै हालसम्म ५६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको जनाएको छ।

National Life

पार्टीको आन्तरिक विवरणअनुसार कुल ७७ जिल्लामध्ये ५६ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने १२ जिल्लामा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया जारी छ। यस्तै ६ जिल्लामा अधिवेशन हुन बाँकी रहेको छ भने बागमती प्रदेशको सिन्धुपाल्चोकमा अधिवेशन स्थगित गरिएको छ।

रास्वपाले सातै प्रदेशमा संगठन सुदृढ गर्ने रणनीतिअनुसार जिल्ला अधिवेशनलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

मधेशका सबै जिल्लामा निर्वाचन

रास्वपाको जिल्ला अधिवेशनअन्तर्गत सबैभन्दा बढी प्रतिस्पर्धा मधेश प्रदेशमा देखिएको छ। मधेशका कुनै पनि जिल्लामा सहमतिबाट नेतृत्व चयन हुन नसकेको र सबै ८ जिल्लामा निर्वाचन प्रक्रिया अघि बढाइएको पार्टीको विवरणमा उल्लेख छ।

महोत्तरी, रौतहट, सिराहा, पर्सा र सर्लाहीमा निर्वाचन प्रक्रिया जारी छ भने धनुषामा जेठ २६ गते तथा सप्तरी र बारामा जेठ २७ गते निर्वाचनको मिति तय गरिएको छ। मधेशमा देखिएको चुनावी प्रतिस्पर्धालाई रास्वपाभित्र आन्तरिक लोकतन्त्रको अभ्यास र संगठन विस्तारको संकेतका रूपमा हेरिएको छ।

बागमती र लुम्बिनीमा अधिवेशन लगभग सम्पन्न

बागमती प्रदेशका १३ जिल्लामध्ये सिन्धुपाल्चोक बाहेक काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, दोलखा र नुवाकोटसहित १२ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ।

त्यस्तै लुम्बिनी प्रदेशका रूपन्देही, दाङ, बाँके, पाल्पासहित सबै १२ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको र अधिवेशन प्रक्रिया सम्पन्न भएको रास्वपाले जनाएको छ।

बागलुङमा विवाद, नवलपुरमा निर्वाचन बाँकी

गण्डकी प्रदेशको बागलुङमा सहमतिमै नेतृत्व चयन भएको भनिए पनि त्यसविरुद्ध उजुरी परेपछि विवाद समाधानको प्रक्रिया जारी रहेको छ। गण्डकीकै नवलपुरमा भने निर्वाचन हुन बाँकी रहेको बताइएको छ।

कर्णाली र सुदूरपश्चिममा पनि चुनावी माहोल

कर्णाली प्रदेशका कालिकोट, सल्यान, मुगु र जुम्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने सुर्खेत, जाजरकोट र दैलेखमा निर्वाचन प्रक्रिया जारी छ।

सुदूरपश्चिम प्रदेशका डोटी र बाजुरामा निर्वाचनको तयारी भइरहेको छ भने कैलाली, कञ्चनपुर, डडेल्धुरासहित सात जिल्लामा नेतृत्व चयन भइसकेको छ। कोशी प्रदेशको उदयपुरमा पनि निर्वाचनको तयारी भइरहेको जनाइएको छ।

६ जिल्लामा अझै अधिवेशन हुन बाँकी

रास्वपाका अनुसार भौगोलिक रूपमा दुर्गम मानिने डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ, मुस्ताङलगायत ६ जिल्लामा अझै अधिवेशन हुन सकेको छैन।

वैकल्पिक राजनीतिको एजेन्डासहित उदाएको रास्वपाले तल्लो तहसम्म निर्वाचित नेतृत्व निर्माणलाई प्राथमिकता दिँदै आएको छ। जिल्ला अधिवेशनहरूको नतिजाले पार्टीभित्र नयाँ नेतृत्वको उदय र आगामी महाधिवेशनको आधार तयार भइरहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

प्रतिकृया