यस्तो छ आजको मौसम
प्रकाशित मिति
२०८३ जेष्ठ ३१ गते, आईतवार ०७:२५
३१ जेठ २०८३ काठमाडौं – हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा (ट्रफ), स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली र वर्षाको अवस्था रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी पहाडी क्षेत्र तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका साथै मधेस प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ भने मधेस प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
महाशाखाले मेघगर्जन, चट्याङ तथा वर्षाबाट हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।




प्रतिकृया