यस्तो छ आजको मौसम
प्रकाशित मिति
२०८३ जेष्ठ २५ गते, सोमबार ०८:१३
२५ जेठ २०८३ काठमाडौं – नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मौसम बदली भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ। कोशी प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ। साथै बाँकी हिमाली क्षेत्रमा पनि बादल लाग्ने सम्भावना रहेको विभागले जनाएको छ। यी क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।

यता मधेश प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको विभागले जनाएको छ।
आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशीका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
विभागले वर्षा, चट्याङ तथा तातो मौसमबाट हुन सक्ने प्रभावलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।




प्रतिकृया