बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै
प्रकाशित मिति
२०८३ जेष्ठ २२ गते, शुक्रबार ११:४१
२२ जेठ २०८३ काठमाडौं – बैंकिङ प्रणालीमा तरलता लगातार बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप ७० अर्ब रुपैयाँ तान्ने भएको छ। वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको हो। राष्ट्र बैंकका अनुसार यसका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ।

बैंक तथा वित्तीय संस्थाहरूले प्रतिस्पर्धात्मक ब्याजदर प्रस्ताव गर्दै बोलकबोलमा सहभागी हुन सक्नेछन्। निक्षेप राख्न इच्छुक संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा निक्षेप संकलन गर्ने जनाएको छ। एउटै संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी प्रस्ताव पेश गर्न सक्ने व्यवस्था पनि गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

केन्द्रीय बैंकका अनुसार निक्षेप संकलन उपकरणको अवधि ७७ दिन रहनेछ। संकलित रकमको साँवा तथा ब्याज आगामी भदौ ५ गते एकमुष्ट भुक्तानी गरिनेछ।




प्रतिकृया