विपद् उद्धारका लागि २ हेलिकप्टर तयारीमा राख्न गृहमन्त्री गुरुङको निर्देशन
प्रकाशित मिति
२०८२ चैत्र १८ गते, बुधबार ०९:३१
१८ चैत,२०८२ काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् प्रभावित नागरिकको तत्काल उद्धारका लागि दुई वटा हेलिकप्टर सधैं तयारी अवस्थामा राखिने बताएका छन्। चैत १७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षणका क्रममा उनले विपद् व्यवस्थापनमा कुनै ढिलाइ हुन नदिने गरी आवश्यक तयारी गर्न निर्देशन दिएका हुन्।
उनले आपतकालीन अवस्थामा नागरिकको ज्यान सबैभन्दा महत्वपूर्ण भएकाले उद्धार र सुरक्षामा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिए। विपद्का बेला सशस्त्र प्रहरीले जोखिम मोलेर उद्धारमा खटिएको भन्दै उनले सुरक्षाकर्मीको प्रशंसा समेत गरे। साथै, विपद् आउनु अघि नै तयारी अवस्थामा रहन र जनशक्ति फिल्डमै सक्रिय हुनुपर्नेमा उनले जोड दिए।
गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न मन्त्रालय कडा रूपमा प्रस्तुत हुने बताए। त्यस्तै, सशस्त्र प्रहरीमा लामो समय एउटै पदमा बस्नुपर्ने समस्याको समाधानतर्फ पनि पहल गरिने जानकारी दिए।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गृहमन्त्रीको निर्देशनले संगठनको मनोबल उच्च भएको बताउँदै कार्यसम्पादन अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले संगठन सुदृढीकरणका लागि नियमावली संशोधन आवश्यक रहेको र तल्लो तहका कर्मचारीका सेवा–सुविधा सुधार गर्नुपर्नेमा जोड दिए।
उक्त कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठसहित सशस्त्र प्रहरीका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।






प्रतिकृया