• ३ साउन २०८३, आइतबार
  • ३:४७ बेलुका

भारतसँगको सीमा ७२ घण्टा बन्द

प्रकाशित मिति

२०८२ फाल्गुन १९ गते, मंगलवार ०९:२८

१९ फाल्गुन,२०८२ वीरगञ्ज- जिल्ला प्रशासन कार्यालय पर्सा ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टाका लागि बन्द गर्ने निर्णय गरेको छ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलका अनुसार सोमबार राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म भारतसँगको सीमा आवागमन पूर्ण रूपमा बन्द रहनेछ। पर्सासँग सीमा जोडिएका बिहार राज्यअन्तर्गतका पूर्वी चम्पारण जिल्ला र पश्चिम चम्पारण जिल्ला तर्फका नाका निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै बन्द गरिएको प्रशासनले जनाएको छ। निर्वाचनका बेला दुवै मुलुकले ७२ घण्टा सीमा नाका बन्द गर्ने परम्परा अनुसार निर्णय गरिएको उनले जानकारी दिए।

Kamana Sewa

यसैबीच, फागुन १९ गते तराई–मधेसमा मनाइने होली पर्वलाई सौहार्दपूर्ण र निर्वाचनमैत्री ढंगले मनाउन प्रशासनले आग्रह गरेको छ। सार्वजनिक स्थलमा भीडभाड, होहल्ला, जबर्जस्ती रङ दल्ने तथा मदिरा सेवन गरी सामाजिक सद्भाव खल्बलिने गतिविधि नगर्न अनुरोध गरिएको छ। साथै कुनै पनि राजनीतिक दल वा उम्मेदवारको झन्डा वा चुनाव चिह्न अंकित कपडा लगाएर पर्व मनाउन निषेध गरिएको छ।

Classic Tech Desktop

होलीका क्रममा मोटरसाइकल दुर्घटना बढ्ने भएकाले फागुन २० गते मोटरसाइकल प्रयोग गरी होली मनाउनसमेत रोक लगाइएको छ। फागुन १९ गतेदेखि निर्वाचन परिणाम घोषणा नभएसम्म जिल्लाभर कुनै पनि राजनीतिक दलको प्रचारप्रसार, सभा–जुलुस तथा धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रममा डिजे लगायत ध्वनि प्रदूषण हुने बाजा बजाउन निषेध गरिएको प्रशासनले जनाएको छ।

प्रतिकृया