• २ असोज २०८३, शुक्रबार
  • ४ः५२ बेलुका

धादिङमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु, २७ जना घाइते

प्रकाशित मिति

२०८२ फाल्गुन ११ गते, सोमबार ०७:३१

११ फाल्गुन, २०८२  काठमाडौं –   पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये ६ महिला र ११ पुरुष रहेका छन्।

National Life

पृथ्वी राजमार्ग अन्तर्गत पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस मध्यराति करिब साढे १ बजे धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडा स्थित त्रिशूली नदी किनारमा खसेर दुर्घटनामा परेको हो। बस सडकबाट करिब ३ सय मिटर तल खसेर क्षतविक्षत अवस्थामा फेला परेको थियो।

धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार घटनास्थलबाट ८ महिला, १८ पुरुष र एक बालिका गरी २७ जनाको उद्धार गरिएको छ। घाइतेहरूलाई विभिन्न अस्पतालमा पठाइएको छ। मृतक र घाइतेहरूको सनाखत हुन बाँकी रहेको उनले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

दुर्घटनामा केही विदेशी पर्यटकसमेत परेका छन्। घाइतेमध्ये एक जना न्यूजिल्याण्डका नागरिक रहेको बताइएको छ।

उद्धारकार्य रातिको समय, अप्ठेरो भौगोलिक अवस्था तथा उद्धार सामग्रीको अभावका कारण चुनौतीपूर्ण बनेको थियो। प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार टर्चको सहायताले घाइतेहरूको उद्धार गरिएको थियो। घटनास्थलबाट डुंगाको सहायताले यात्रुहरूलाई करिब एक किलोमिटर तलसम्म ल्याएर, त्यहाँबाट उकालो चढाई एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो।

दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरी नेतृत्वको टोली तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली परिचालन गरिएको थियो।

मृत्यु भएका १७ जनाको शव घटनास्थलमै राखिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने हालसम्म खुलेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिकृया