आम्दानी घट्दा पनि नेपाल बैंकको नाफा १८३ प्रतिशतले उछाल
प्रकाशित मिति
२०८२ माघ १४ गते, बुधबार ०९:४७
१४ माघ,२०८२ काठमाडौं – नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आम्दानी घटे पनि बैंकको खुद नाफामा उल्लेख्य वृद्धि देखिएको छ ।
गत आवको पुस मसान्तसम्म ४६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालू आवको सोही अवधिमा १८३ प्रतिशतको वृद्धि गर्दै १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यद्यपि बैंकको खुद ब्याज आम्दानी घटेको छ । गत आवको सोही अवधिमा ४ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालू आवमा करिब ४ प्रतिशतले घटेर ४ अर्ब ४४ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ । कुल सञ्चालन आम्दानी पनि ५ अर्ब ४३ करोड ५४ लाख रुपैयाँबाट घटेर ५ अर्ब ३४ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

आम्दानी घटे पनि सञ्चालन नाफामा भने ठूलो उछाल आएको छ । गत आवको दोस्रो त्रैमासमा ४१ करोड ६७ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालू आवमा ३९४ प्रतिशतले बढेर २ अर्ब ६ करोड १५ लाख रुपैयाँ पुगेको छ ।
नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी ६.२७ रुपैयाँबाट बढेर १७.७६ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ४.९९ प्रतिशतबाट बढेर ५.३४ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ २६२.४३ रुपैयाँ रहेको छ ।
१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष ९१ करोड रुपैयाँभन्दा बढी ऋणात्मक छ । यद्यपि रिजर्भ कोषमा २४ अर्ब ७८ करोड २३ लाख रुपैयाँ रहेको छ । बैंकले पुस मसान्तसम्म २ खर्ब ३० अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६४ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।




प्रतिकृया