रास्वपा र विवेकशील साझा पार्टी आइतबार एकता हुने
प्रकाशित मिति
२०८२ मंसिर १४ गते, आईतवार ०९:३४
मंसिर १४, २०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आगामी आइतबार औपचारिक एकता हुने भएको छ। शनिबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले विवेकशील साझा पार्टीसँग एकता गर्ने प्रस्तावलाई सर्वसम्मत स्वीकृति प्रदान गर्दै एकीकरण प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
रास्वपाका प्रवक्ता मनिष झाले बैठकपछि बताएअनुसार, आइतबार राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’ आयोजना गरिनेछ। विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले यसअघि नै रास्वपासँग एकता गर्ने निर्णय गरिसकेको थियो।
प्रवक्ता झाका अनुसार, रास्वपा विवेकशील मात्र नभई असल शासन, सुशासन र समृद्धिसँग सरोकार राख्ने सबै परिवर्तनकारी राजनीतिक शक्तिसँग मुद्दागत र संगठनात्मक सहकार्यमा अघि बढिरहेको छ। उनले भने, “विवेकशीलसँग निःसर्त एकताको निर्णय गरिएको छ, आइतबार घोषणासभामार्फत संयुक्त यात्रा प्रारम्भ हुन्छ।”
विवेकशील साझा पार्टीले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गर्दै एकतामा जाने निर्णय गरिसकेको छ। विवेकशील अभियान विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा सुरु भएको थियो भने २०७० मा विवेकशील नेपाली दल दर्ता भएर चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो।
रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो। उक्त दलले प्रतिनिधिसभा निर्वाचन–२०७९ मा प्रत्यक्षतर्फ सात सिट जित्दै उल्लेखनीय सफलताको परिचय दिएको थियो।






प्रतिकृया