निर्वाचनका लागि सरकार दत्तचित्त: प्रधानमन्त्री कार्की
प्रकाशित मिति
२०८२ कार्तिक ५ गते, बुधबार ११:५२
कात्तिक ५, २०८२ काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन भयरहित र सफल बनाउन सरकार पूर्ण रूपले समर्पित रहेको बताएकी छन्। नेपाल संवत्को अवसरमा काठमाडौंको बसन्तपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनको वातावरण निर्माणमा निरन्तर लागिपरेको उल्लेख गरिन्।
‘विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित ढंगले चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न यो सरकार दत्तचित्त भएर लागेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘प्रत्येक दिन राजनीतिक दलहरुसँग कुनै न कुनै रूपमा संवाद भइरहेको छ। परिवर्तनकाबाहक जेनजी समुदायसँग पनि निरन्तर संवाद र सम्पर्कमा छौं।’ प्रधानमन्त्री कार्कीले निर्वाचनलाई प्राथमिकतामा राखेको भन्दै अन्य मुद्दाहरू उपेक्षित नभएको स्पष्ट पारिन्।
‘निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन बसेको भन्ने होइन,’ उनले भनिन्, ‘नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नु हाम्रो मूल दायित्व हो। यसका लागि राज्यका संयन्त्रमार्फत परिणाममुखी काम भइरहेको छ।’
उनले लोकतन्त्रलाई जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने कार्यलाई राष्ट्रिय अभिभाराका रूपमा अघि बढाउनु पर्ने अपिलसमेत गरिन्।






प्रतिकृया