निर्वाचनमा नजाने ओलीको निर्णय लोकतन्त्रविपरीत:राष्ट्रपति पौडेल
प्रकाशित मिति
२०८२ कार्तिक १ गते, शनिबार ०१:४६
कात्तिक १,२०८२ काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनमा तोकिएको निर्वाचनमा सहभागी नहुने घोषणा गरेकोप्रति असन्तुष्ट देखिएका छन्। शनिबार शीतल निवासमा बौद्धिक समुदायका अगुवाहरूसँग भएको छलफलमा राष्ट्रपति पौडेलले ओलीको निर्णयप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका हुन्।
छलफलमा सहभागी एक अगुवाका अनुसार राष्ट्रपतिले एमालेको पछिल्लो निर्णय लोकतान्त्रिक प्रक्रियासँग मेल नखाने भन्दै चासो व्यक्त गरे। “एमालेको भूमिकाबारे छलफल भयो। राष्ट्रपतिज्यू ओलीको निर्वाचनमा नजाने घोषणाबाट सन्तुष्ट देखिनुभएन,” एक सहभागीले अनलाइनखबरसँग भने। ओलीले शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकको समापनमा आगामी निर्वाचनमा सहभागी नहुने घोषणा गरेका थिए। तर, छलफलका क्रममा सहभागी अगुवाहरूका अनुसार एमाले अध्यक्षबाहेकका नेताहरू भने निर्वाचन प्रक्रियामा जानुपर्ने पक्षमा देखिएका छन्।
“राष्ट्रपतिले अन्य एमाले नेताहरूसँग भेट गर्दा उनीहरू निर्वाचन प्रक्रियामा जानुपर्ने धारणा राख्नेमा देखिनुभयो,” अर्का सहभागी अगुवाले भने। छलफलमा राष्ट्रपतिले ओलीकै सिफारिसमा आफूले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको प्रसंगसमेत उठाएका थिए। राष्ट्रपति पौडेलको तर्फबाट आएको यो असन्तुष्टि लोकतान्त्रिक अभ्यास र संविधानअनुसार निर्वाचनको प्रक्रियालाई निरन्तरता दिनुपर्ने संकेतका रूपमा लिइएको छ।








प्रतिकृया