दसैंपछि ओली–लेखकसँग बयान लिँदै जेनजी आन्दोलन छानबिन आयोग
प्रकाशित मिति
२०८२ आश्विन १३ गते, सोमबार १२:१८
असोज १३, २०८२ काठमाडौं– २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति छानबिन गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहितका शीर्ष पदाधिकारीहरूलाई अनुसन्धानको दायरामा राख्दै बयान लिन तयारी थालेको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको तीन सदस्यीय छानबिन आयोगले आइतबार (असोज ६) मात्र ओली, लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र त्यसबेला काठमाडौंका प्रमुख जिल्ला अधिकारी रहेका छविलाल रिजालको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको थियो।
आयोगको विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि अनुसन्धानको दायरामा रहेका व्यक्ति विदेश जान नपाउने र उपत्यका छाड्न आयोगको स्वीकृति आवश्यक पर्ने व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचार गरिनेछ।”
आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार, अनुसन्धान अन्तर्गत रहेका यी अधिकारीहरूसँग अब प्रक्रिया मिलाएर बयान लिने काम दसैंपछि सुरु गरिनेछ। दसैंको सार्वजनिक बिदाका कारण तत्काल भने प्रक्रिया स्थगित गरिएको छ।
जेनजी आन्दोलनको पहिलो दिन, भदौ २३ गते, सरकारको कडा दमनका कारण १९ जना प्रदर्शनकारीको मृत्यु भएको थियो। दोस्रो दिन, भदौ २४ गते, राजधानीका विभिन्न स्थानमा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए। प्रहरीका अनुसार, दुई दिनको आन्दोलनमा अहिलेसम्म ७४ जनाले ज्यान गुमाइसकेका छन्।






प्रतिकृया