• २ असोज २०८३, शुक्रबार
  • ६ः०५ बेलुका

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा, शक्तिपीठहरुमा भक्तजनको घुइँचो

प्रकाशित मिति

२०८२ आश्विन ८ गते, बुधबार ०८:५९

असोज ८, २०८२ काठमाडौं– महान चाड दशैंअन्तर्गत नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको विशेष पूजा–आराधना गरिँदैछ। घटस्थापनासँगै सुरु भएको नवरात्रका नौ दिनमा विभिन्न रूपमा देवीको पूजा गरिन्छ, जसअनुसार आज चन्द्रघण्टा देवीको पूजा गरिंदैछ।

National Life

विशेषगरी गीत–सङ्गीत क्षेत्रमा सक्रिय व्यक्तिहरू चन्द्रघण्टा देवीको आराधना गर्ने परम्परा रहेको धार्मिक विश्वास छ। भक्तजनहरू देवीको कृपा प्राप्त गर्न मन्दिरहरूमा पूजाआजा र दर्शनमा व्यस्त छन्।

काठमाडौं उपत्यकाभित्र गुह्येश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी र इन्द्रायणी लगायतका प्रमुख शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, उपत्यका बाहिर पनि धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा, गोरखाको मनकामना र दाङको अम्बिकेश्वरी मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनहरूको उल्लेख्य घुइँचो देखिएको छ।

धार्मिक ग्रन्थहरू अनुसार, पार्वतीको सौन्दर्य अवतार मानिने चन्द्रघण्टा देवीको शीरमा अर्धचन्द्राकार घण्टाजस्तो मुकुट हुने भएकाले यी देवीलाई “चन्द्रघण्टा” भनिन्छ। श्रीमद् देवीभागवत लगायतका ग्रन्थहरूमा उल्लेख भएअनुसार, चन्द्रघण्टा देवीले अमानवीय तथा आसुरी प्रवृत्तिको नाश गरी सज्जनहरूको रक्षाका लागि अवतार लिएकी हुन्।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिन्छ। चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्र्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको आराधना गरिने परम्परा रहेको छ।

चन्द्रघण्टा देवीको आराधनाबाट साधकमा वीरता, निर्भयता, सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वास गरिएको छ।

प्रतिकृया