• ३ साउन २०८३, आइतबार
  • ३:४४ बेलुका

आज घटस्थापना, हनुमानढोकाको दशैंघरमा राखियो जमरा

प्रकाशित मिति

२०८२ आश्विन ६ गते, सोमबार १०:१०

असोज ६, २०८२ काठमाडौं– काठमाडौंको हनुमानढोकास्थित ऐतिहासिक दशैंघरमा आज बिहान विधिपूर्वक घटस्थापना सम्पन्न गरिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा तोकिएको शुभ साइत अनुसार बिहान ९ बजेर १३ मिनेटमा जौं राखी जमरा छरिएको हो।

घटस्थापना अवसरमा नेपाली सेनाको एक टोलीले परम्परागत मंगल धुन बजाएर वातावरणमा हर्ष उल्लास थपेको थियो। सेनाको टोलीले बढाइँसहित नवरात्र आरम्भको संकेतस्वरूप विधिवत कार्यक्रम सम्पन्न गरेको हनुमानढोका दरबार हेरचाह अड्डाका कर्मचारीहरूले जानकारी दिएका छन्।

Kamana Sewa

आजको दिन, सूर्योदयकालमा प्रतिपदा तिथि परेकाले शास्त्रीय मान्यता अनुसार घटस्थापना गर्न अनुकूल मानिएको छ। शास्त्र अनुसार विधिपूर्वक घट (घडा) स्थापना गरी त्यसमा शक्तिस्वरूपा दुर्गाको आवाहन गरी पूजा गरिन्छ। त्यही घटस्थापनाबाट नवरात्रको सुरुवात मानिन्छ।

Classic Tech Desktop

साँस्कृतिक परम्परा अनुसार, आज बिहानै नित्यकर्म समाप्त गरी चोखो स्थलबाट बालुवा वा माटो ल्याई पूजा कोठा अथवा दशैंघरमा गाईको गोबरले लिपपोत गरी जमरा छरिन्छ। यही अंकुरित जौंलाई दशमीका दिन देवी दुर्गाको प्रसादस्वरूप ग्रहण गरिन्छ।

दशैंघरमा घटस्थापनासँगै महाकाली, महालक्ष्मी र महासरस्वतीका रूपमा दुर्गा देवीको नवरात्रभर पूजा आराधना गरिनेछ। यो अवधिमा हरेक दिन बलि दिने परम्परा समेत पालन गरिन्छ। हनुमानढोकामा विशेष महत्वका साथ चल्ने यो परम्परा सदियौंदेखि निरन्तर रहिआएको सांस्कृतिक सम्पदा हो।

यस वर्षको टीकाको दिन असोज १६ गते परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीकाको शुभ साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ।

प्रतिकृया