पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जेन–जी आन्दोलनका घाइतेको अस्पतालमा अवलोकन
प्रकाशित मिति
२०८२ आश्विन ३ गते, शुक्रबार ०७:१०
असोज ३, २०८२ काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा घाइते भएका नागरिकलाई नेपाल प्रहरी अस्पतालमा पुगेर भेट गरेकी छन्।
भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको अवस्थाबारे जानकारी लिन अस्पताल पुगेकी भण्डारीले बिरामीहरूको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया र अवस्था सुधारको बारेमा चासो व्यक्त गरेकी थिइन्।
पूर्वराष्ट्रपतिले उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गर्दै अस्पतालमा खटिएका चिकित्सकहरूसँग आवश्यक समन्वय र संवेदनशीलताका साथ उपचार जारी राख्न निर्देशनसमेत दिएकी छन्। प्रदर्शनमा सुरक्षाकर्मीको बल प्रयोगबाट ७४ जनाको ज्यान गएको पुष्टि गरिएको छ भने सयौँ घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि बनेको अन्तरिम सरकारले मृतकहरूलाई शहीद घोषणा गर्दै प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत तथा अन्त्येष्टिसम्बन्धी खर्चबापत थप ५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ। साथै, आन्दोलनमा घाइते भएका सबैको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरिसकेको छ।
पूर्वराष्ट्रपतिद्वारा गरिएको अस्पताल अवलोकनले घाइतेप्रति सहानुभूति र राज्यका जिम्मेवार व्यक्तिहरूको संलग्नतामा थप सन्देश दिएको भन्दै सर्वत्र सराहना भएको छ।






प्रतिकृया