लिपुलेकबारे भारतसँग कुरा गर्ने : प्रधानमन्त्री ओली
प्रकाशित मिति
२०८२ भाद्र २० गते, शुक्रबार ०२:५०
भदौ २०,२०८२ ललितपुर – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक सम्बन्धी विषय भारतसँग स्पष्ट रूपमा उठाइने बताएका छन्।
शुक्रबार ललितपुरस्थित गोदावरीमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन गर्दै ओलीले चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङसँग भएको द्विपक्षीय भेटमा नेपालको भूमिबाट अन्य दुई देशले व्यापार गर्ने सम्झौता अस्वीकार्य हुने कुरा राखेको बताए।

उनले भने, “यो कुरा रेकर्डमा छ, अडियो, भिडियो र नोटमा छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले जवाफ दिँदै नेपालको सार्वभौमसत्ताप्रति सम्मान रहने आश्वासन दिनुभयो। यो विषय नेपाल र भारतबीच वार्ताबाट समाधान हुने विश्वास चीनले व्यक्त गरेको छ।”

ओलीले लिपुलेक विवाद समाधान गर्ने जिम्मा भारतसँग रहेको स्पष्ट गर्दै नेपालले यस विषयमा भारतसँग नै वार्ता गर्ने बताए। उनले “तेस्रो देशलाई ल्याउन खोज्यो भन्ने भ्रम फैलाइएको” भन्दै चीनलाई यस विषयमा जोड्ने प्रयत्न गलत भएको स्पष्ट पारे।
उनले भने, “भारत र चीनले व्यापार सम्झौता गरेपछि चीनलाई आफ्नो धारणा राखेका हौं। तर समाधान नेपाल–भारतबीचको विषय भएकाले भारतसँग कुरा गर्नेछौं।”
प्रधानमन्त्री ओलीले लिपुलेक विषयमा केही तत्वले भ्रम छर्न खोजेको आरोप लगाउँदै नेपालले सबै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो धारणा स्पष्ट रूपमा राख्ने बताए। उनले जोड दिए, “राष्ट्रिय हितमा कुनै सम्झौता हुँदैन। उठाउनुपर्ने ठाउँमा नेपालले आफ्नो कुरा उठाउँछ।”




प्रतिकृया