• २ असोज २०८३, शुक्रबार
  • ४ः२४ बेलुका

वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्रा धार्मिक विधिपूर्वक सुरु

प्रकाशित मिति

२०८२ भाद्र १९ गते, बिहीबार १२:१७

भदौ १९,२०८२ काठमाडौं – काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा धार्मिक विधिअनुसार इन्द्रजात्रा सुरु भएको छ। हनुमानढोकामा इन्द्रध्वजासहितको लिंगो ठड्याएर पर्वको सुरुआत गरिएको हो। परम्पराअनुसार भाद्र शुक्ल द्वादशीका दिन लिंगो ठड्याएर सुरु हुने यो जात्रा ८ दिनसम्म विविध नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजासहित मनाइने प्रचलन छ।

National Life

जात्राको अवसरमा दरबार स्क्वायरका काष्ठमण्डप, कुमारी घर, शिव–पार्वती मन्दिरलगायत सम्पदामा रङरोगन गरी रातो ध्वजा फेरेर सजाइएको छ। भाद्र शुक्ल द्वादशीमा ठड्याइने लिंगोलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ। लिंगोको फेदमा भैरवको विशेष पूजा गर्ने चलन छ।

शत्रु पराजयपछि विजय मनाउने पर्वका रूपमा मनाइने इन्द्रजात्रा शक्ति प्राप्तिको प्रतीक मानिन्छ। यस पर्वमा राष्ट्रपति हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवी श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथयात्रा अवलोकन गर्ने परम्परा रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

जात्राभरि भक्कु नाच, महाकाली नाच, लाखे नाच, दशावतार नाच तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक पुलुकिसी नाच प्रस्तुत गरिन्छ। इन्द्रध्वजाको लिंगो ठड्याएको आठौं दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गरी जात्रा समापन गर्ने परम्परा छ।

नेवारी समुदायको प्रमुख पर्व मानिने इन्द्रजात्रा काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा धुमधामका साथ मनाइन्छ।

प्रतिकृया