प्रतिनिधिसभा बैठक जारी : विभिन्न मन्त्रालयका प्रश्नोत्तर र विधेयक प्रस्तुत गर्ने कार्यसूची
प्रकाशित मिति
२०८२ भाद्र ६ गते, शुक्रबार ०२:०६
भदौ ६,२०८२ काठमाडौं – प्रतिनिधिसभाको बैठक सुरु भएको छ। आजको बैठकमा गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र वन तथा वातावरण मन्त्रालय सम्बन्धी उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय गरिएको छ।
त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची समेत रहेको छ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्ने कार्यसूची छ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ लाई पनि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ माथि अर्थ समितिको प्रतिवेदनसहित छलफल गर्ने र वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ पारित गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।




प्रतिकृया