• २१ भदौ २०८३, आइतबार
  • ४ः१५ बेलुका

साउन महिनामै २४ अर्बभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत

प्रकाशित मिति

२०८२ भाद्र ६ गते, शुक्रबार ०२:५१

भदौ ६,२०८२ काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन) मै नेपालमा २४ अर्ब १० करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ।

National Life

उद्योग विभागका अनुसार साउनमा अटोमेटिक रुटमार्फत ८१ र अप्रुभल रुटमार्फत ४६ गरी १ सय २७ उद्योग दर्ता भएका छन्। अटोमेटिक रुटमार्फत दर्ता भएका उद्योग मुख्यतः साना उद्योगमा केन्द्रित रहेका छन्। ती ८१ उद्योगले जम्मा ७३ करोड ३० लाख रुपैयाँ बराबरको मात्र लगानी प्रतिबद्धता गरेका छन्।

त्यसैगरी, अप्रुभल रुटमार्फत दर्ता भएका ४६ उद्योगले भने २३ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता गरेका छन्।यससँगै नेपालमा हालसम्म स्वीकृत एफडीआई प्रतिबद्धता ६ खर्ब ७५ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ नाघेको छ। विभागका अनुसार देशभर हालसम्म ७ हजार ३ सय ६६ उद्योग दर्ता भएका छन्।

Classic Tech Desktop

साउन महिनामा मात्र दर्ता भएका उद्योगले ८ हजार २ सय ६८ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेका छन्। तीमध्ये साना उद्योग १ सय २५ र ठूला उद्योग २ रहेका छन् भने मझौला उद्योग दर्ता भएका छैनन्।

क्षेत्रगत रूपमा हेर्दा साउनमा कृषिमा सबैभन्दा ठूलो लगानी प्रतिबद्धता आएको छ। विभागका अनुसार भैँसीको मासु प्रशोधन उद्योग खोल्न मात्रै २० अर्ब रुपैयाँ बराबरको चिनियाँ लगानी स्वीकृत भएको छ। यसले गर्दा साउनमा एफडीआई असामान्य रूपमा वृद्धि भएको विभागले जनाएको छ। लगानी कार्यान्वयन भए नेपालबाट ठूलो मात्रामा भैँसीको मासु निर्यात हुने अपेक्षा गरिएको छ। कृषि बाहेक पर्यटन, सूचना प्रविधि, सेवा, उत्पादन र ऊर्जामा पनि लगानी प्रतिबद्धता आएको छ। संख्यात्मक हिसाबले साउनमा सूचना प्रविधिमा ७१ र पर्यटन क्षेत्रमा ४१ उद्योग दर्ता भएका छन्।

प्रतिकृया