• ४ साउन २०८३, सोमबार
  • ७:०५ बेलुका

काठमाडौँ उपत्यकासहित देशभर गाईजात्रा पर्व मनाइँदै

प्रकाशित मिति

२०८२ श्रावण २५ गते, आईतवार ११:४८

काठमाडौँ- प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज देशभर विशेष कार्यक्रमका साथ मनाइँदैछ। यो पर्व खासगरी एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइन्छ। आजको दिन दिवंगत आफन्तको सम्झनामा गाई वा गाईको भेषमा सजिएका मानिसलाई आ-आफ्नो क्षेत्रमा परिक्रमा गराउने गरिन्छ।

धार्मिक विश्वास अनुसार, यसरी नगरपरिक्रमा गर्दा मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी नदी पार गर्छन्। परिक्रमा गराउँदा श्रद्धालुहरूले गाईजात्रामा सहभागीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र द्रव्य दान गर्छन्। यस पर्वको सुरुवात राजा प्रताप मल्लको पालादेखि भएको मानिन्छ। पुत्रशोकमा डुबेकी आफ्नी रानीलाई सान्त्वना दिन राजाले जनतालाई आफ्ना दिवंगत व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउन आदेश दिएका थिए। जब रानीले धेरै मानिसले पनि यस्तै शोक व्यहोरेको देखिन्, तब उनको मनमा शान्ति मिलेको जनविश्वास छ। त्यसपछि रानीको मन थप शान्त पार्न राजाले हास्यव्यङ्ग्यका कार्यक्रमहरू गराउने आदेश दिएको र त्यसैबेलादेखि हास्यव्यङ्ग्यको प्रचलन चलेको मानिन्छ।

Kamana Sewa

गाईजात्राको एउटा महत्त्वपूर्ण पक्ष हाँस्यव्यङ्ग्य पनि हो। विगतमा पञ्चायती व्यवस्थाको विरोधमा गरिएका व्यङ्ग्यका कारण यो पर्वमाथि प्रतिबन्ध पनि लगाइएको थियो। तर, वि.सं. २०३३ सालदेखि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा यसलाई पुनस् सुरु गर्‍यो। आजभोलि गाईजात्राको अवसरमा सामाजिक विकृति र विसङ्गतिहरूलाई मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले उजागर गर्ने गरिन्छ।

Classic Tech Desktop

गाईजात्रा काठमाडौं उपत्यकासहित बनेपा, धुलिखेल, पोखरा, इलाम, धरान, विराटनगरलगायत नेवार समुदायको बाहुल्य भएका सहरहरूमा मनाइन्छ। सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। त्यसैगरी नेवार समुदायको बाहुल्य भएका अन्य स्थानीय तहहरू सबैमा सार्वजनिक बिदा ती स्थानीय तहले दिएका छन् ।

प्रतिकृया