हिमालयन बैंकको एफपीओ बाँडफाँट अर्को साता, ८ लाखभन्दा बढीको हात रित्तो
प्रकाशित मिति
२०८२ श्रावण ८ गते, बिहीबार ०२:१२
श्रावण ८,२०८२ काठमाडौं । हिमालयन बैंक लिमिटेडले निष्कासन गरेको प्राथमिक सार्वजनिक निष्कासन (एफपीओ) को बाँडफाँट आगामी साता हुने भएको छ। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार बाँडफाँटको तयारी अन्तिम चरणमा पुगेको र अर्को साताको सुरुमा बाँडफाँट हुने जनाएको छ।
बैंकको एफपीओमा कुल १७ लाख ८८ हजार ९६५ जना लगानीकर्ताले ४ करोड ९ लाख ९८ हजार ६४० कित्ताका लागि आवेदन दिएका थिए। एफपीओमा ४.४३ गुणा बढी आवेदन परेपछि करिब ८ लाख ६३ हजार ९१९ जनाको हात रित्तो हुने पक्का भएको छ।

धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार १० कित्ताका दरले बाँडफाँट हुनेछ। जसअनुसार ९ लाख २५ हजार ४६ जनाले सेयर पाउनेछन्। तीमध्ये ९ जनाले ११ कित्ताका दरले र बाँकीले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्। हिमालयन बैंकले प्रति कित्ता १५७ रुपैयाँको दरले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ असार ३२ गतेदेखि साउन ४ गतेसम्म निष्कासन गरेको थियो। बैंकले शेयर पूँजी वृद्धि गरी संस्थापक र सर्वसाधारण शेयर अनुपात ७०:३० कायम गर्न एफपीओ ल्याएको हो।

एफपीओ निष्कासनपछि बैंकको संस्थापक शेयर १५ करोड ८० लाख ७१ हजार ६३७.७२ कित्ता र सर्वसाधारण शेयर ६ करोड ७७ लाख ४४ हजार ९८७.५९ कित्ता रहनेछ। यस एफपीओका लागि केयर रेटिङ नेपालले बैंकलाई ‘केयर एनपी ट्रिपल बी’ रेटिङ दिएको छ, जसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतालाई मध्यम जोखिमयुक्त रहेको संकेत गर्दछ।




प्रतिकृया