• २ असोज २०८३, शुक्रबार
  • ४ः५० बेलुका

देशभर मनसुनी प्रभाव सक्रिय, बाढी–पहिरोको जोखिम

प्रकाशित मिति

२०८२ श्रावण ३ गते, शनिबार ०७:५५

श्रावण ३  ,२०८२ काठमाडौं ।  हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले वर्षा सक्रिय देखिएको हो।

National Life

महाशाखाका अनुसार आज (शनिबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।

आज राति पनि देशभर सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशका धेरै स्थानहरूमा, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य भागहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गरिएको छ। पूर्वी नेपालका विभिन्न स्थानमा गएरातिदेखि भारी वर्षा भइरहेको छ। इलाम र झापा जिल्लामा उल्लेख्य वर्षा मापन भएको छ। झापाको बाहुनडाँगी वर्षामापन केन्द्रसहित आसपासको क्षेत्रमा थप भारी वर्षाको सम्भावना रहेकाले त्यहाँको निन्दा खोला, मेची नदी र अन्य तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सम्भावित भारी वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना पनि रहेको छ। यसले जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित पार्न सक्ने भएकाले सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता र पूर्वतयारी गर्न आग्रह गरिएको छ।

प्रतिकृया