विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउने प्रयास तीव्र, समितिको बैठक जारी
प्रकाशित मिति
२०८२ असार १२ गते, बिहीबार ०५:०९
असार १२ , २०८२ काठमाडौं । प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सुरु भएको छ । बैठकअघि विधेयकमा सहमति जुटाउन परामर्श तथा समन्वय उपसमितिको बैठक बिहान ८ बजेदेखि निरन्तर बसेको थियो।
विद्यालय शिक्षा विधेयकमा अझै मुख्य रूपमा निजी विद्यालयको व्यवस्थापन र सञ्चालन, प्रारम्भिक बाल विकास (ईसीडी) तथा शिक्षकका मागका विषयमा सहमति जुट्न बाँकी रहेको समितिले जनाएको छ। समितिका सभापति अम्मरबहादुर थापाका अनुसार बाँकी विषयमा आज र भोलि छलफल गरेर निष्कर्षमा पुग्ने तयारी छ। समितिले विधेयक असार १३ गतेभित्रै पारित गरी प्रतिनिधिसभामा पठाउने लक्ष्य लिएको छ।

बुधबार पनि उपसमितिको बैठक दिनभर चलेको थियो। समितिले विवादित विषयहरूलाई क्रमशः साँघुरो बनाउँदै लैजाने प्रयास जारी रहेको जनाएको छ। विधेयक समितिबाट पारित भएपछि प्रतिनिधिसभा हुँदै राष्ट्रिय सभामा जानेछ। त्यहाँ संसदीय प्रक्रिया पूरा भएपछि राष्ट्रपतिको प्रमाणीकरणमार्फत ऐनमा परिणत हुनेछ।

गत वैशाख १७ गते सरकार र शिक्षक महासंघबीच असार १५ भित्र ऐन ल्याउने सहमति भएको थियो। सो सहमतिअनुसार विधेयक पारित गर्ने दबाब समितिमाथि रहेको छ। यसअघि शिक्षकहरूले ऐनको माग राख्दै चैत २० देखि २९ सम्म शैक्षिक हड्तालसहित आन्दोलन गरेका थिए।




प्रतिकृया