• ३ साउन २०८३, आइतबार
  • ९:२६ बिहान

खानेपानीकै लागि बस्ति सार्नु पर्ने अवस्थाको अन्त गर्छौँ : मन्त्री यादव

प्रकाशित मिति

२०८२ बैशाख २२ गते, सोमबार १२:१६

वैशाख २२, २०८२ श्रीअन्तु, (ईलाम) : खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपाली नागरिकका घर घरमा धारा र धारामा सुरक्षित खानेपानी भन्ने दृढ सङ्कल्पका साथ अघि बढी रहेको बताउनु भएको छ । आज ईलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजनाको उद्घाटन गर्नु हुँदै मन्त्री यादवले देशका विभिन्न ग्रामीण बस्तीमा अहिले पनि शुद्ध खानेपानीको अभावले थुप्रै समस्या देखापरेकाले ती समस्या समाधान गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “खानेपानी समस्याकै कारण देशका कयौँ ठाउँमा अहिले पनि नागरिकले बस्ति सार्नु पर्ने अवस्था छ । सरकारले खानेपानीका समस्या समाधानका लागि ठोस योजनाहरु अघि सारेको छ । खानेपानीकै लागि बस्ति सार्नु पर्ने अवस्थाको अन्त गर्छौँ ।” यसैगरी उहाँले सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गर्ने बताउनुभयो ।

Kamana Sewa

उहाँले भन्नुभयो, “विपद्का कारण भत्किएका खानेपानीका आयोजनाहरु र अधुरा खानेपानी आयोजनाको मर्मत गरी पानीको पहुँच वृद्धि गरी स्थानीय तह र उपभोक्ताको सहलगानीमा खानेपानी आयोजना एकीकृत रुपमा सञ्चालन गर्नेछौँ ।” आगामी वर्ष सबै नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी पुर्‍याउने हेतुले सिङ्गो मन्त्रालय लागि परेको मन्त्री यादवको भनाई छ । “म बोलेको कुरा पुरा गर्ने व्यक्ति हुँ । म आफ्नो बाँचा अनुसार नागरिकका घर घरमा शुद्ध खानेपानी पुर्‍याउने हेतुले अहिले देशका दुर्गमदेखि सुगम ठाउँमा पुग्दैछु । नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी अवश्य पुर्‍याउछु ।”

Classic Tech Desktop

बिगतका समयमा अधुरा रहेका र बाढीले क्षति गरेका खानेपानीका आयोजनाहरु निर्माण सम्पन्न भइरहेको बताउनु हुँदै उहाँले भन्नुभयो, “मैले मन्त्रालय सम्हालेदेखि बिगतका अधुरा रहेका खानेपानीका आयोजनाहरु पुरा भएका छन् । सिङ्हदरबारदेखि दुर्गमक्षेत्र सम्म अब शुद्ध खानेपानी बितरण हुँदैछ ।”

खानेपानी तथा ढलव्यवस्थापन विभागका मानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले ईलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजना अन्तर्गत सुर्योदय नगरपालिका–४ र ५ का करिब दुई हजार १३४ घरपरिवार र ११ हजार ७६९ जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने बताउनुभयो ।

उहाँका अनुसार हालसम्म कुल २५० घरधुरीहरू यस खानेपानी प्रणालीमा जोडिएका तथा यस योजना अन्तर्गत दुई वटा मुहान (सिद्धी खोला र श्रीअन्तु खोला) बाट पानी सङ्कलन गरिन्छ । प्रभावकारी र भरपर्दो आपूर्ति सुनिश्चित गर्न आयोजना पम्पिङ तथा ग्राभिटी दुवै प्रणालीमा आधारित छ ।

योजना १५ वर्षको दीर्घकालीन सेवा अवधिका लागि डिजाइन गरिएको र जसमा भविष्यको जनसङ्ख्या वृद्धि समेत ध्यानमा राखिएको छ । आयोजना सम्पन्न गर्नको लागि कुल लागत रु ३७ करोड ७२ लाख रहेको छ । जसमा १० प्रतिसत लागत स्थानीय समुदायबाट योगदान प्राप्त भएको खानेपानी तथा ढलव्यवस्थापन विभागले जनाएको छ ।

श्रीअन्तु समालबुङ खानेपानी आयोजना इलाम जिल्लाको सदरमुकामबाट ४७ किलोमिटरमा अवस्थित रहेको छ । यसको क्षेत्रफल १८ दशमलब ८ वर्ग किलोमिटर रहेको छ । यो समुद्री सहतबाट ९५७ देखि एक हजार ८०० मिटर सम्म रहेको महानिर्देशक ई श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आम उपभोक्ताको मागलाई मध्यनजर गर्दै सूर्योदय नगरपालिकाको सिफारिस बमोजिम सिद्धि र अन्तुखोलाको दोभान महेन्द्रबेंसी मुहानबाट पानी पम्पिङ् प्रणाली मार्फत उक्त क्षेत्रको उच्च भागमा भण्डारण गरी वितरण गर्ने परियोजना सहित यस आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७८/७९ देखि शुरु भएको हो ।” उक्त आयोजना खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहत केन्द्रीय खानेपानी आयोजना अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामबाट सञ्चालनमा रहेको छ ।

श्रीअन्तु समालबुङ खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष राजु बम्जनको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा इलाम क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य महेश बस्नेत, कोशी प्रदेश सभा सुसासन तथा योजना समितिका सभापति खगेश्वरी पौडेल (बन्दना), प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री शमसेर राई, सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ तथा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका प्रमुख उत्सव पोख्रेल लगायतका स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया